बाइस देशसँगको वैदेशिक व्यापार नाफामा, घाटा कति ?

Advertisement

काठमाडौं । वैदेशिक व्यापार घाटाको कहाली लाग्दो तथ्यांक सुन्ने बानी परेका नेपालीलाई २२ वटा देशसँगको त्यस्तो व्यापार भने नाफामा छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । तर चालु आर्थिक वर्षको सुरुका दुई महिनामा नेपालले संसारभरका २२ देशसँगको वैदेशिक व्यापारबाट एक अर्ब ११ करोड ३६ लाख ६ हजार रुपैयाँले नाफामा रहेको देखिन्छ । नेपालले यी २२ देशबाट २ अर्ब ४० करोड ६ लाख ४० हजारको समान आयात गरेको छ । त्यस्तै, निर्यात भने ३ अर्ब ५१ करोड ४२ लाख ४६ हजार रुपैयाँ बराबरको गरेको देखिन्छ । २२ मध्ये उरुग्वे, न्यु कालेडोनिया, लाइबेरिया, आइसल्याण्ड, डोमिनिका, चाड र अजरबैजानबाट भने शुन्य आयात गरेको छ । यद्यपी यी देशहरुमा निर्यातको हिस्सा भने थोरै देखिन्छ ।

नेपालले अमेरिकासँगको व्यापारमा ६५ करोड ५ लाख ८९ हजार नाफा गरेको देखिन्छ । बेलायतसँगको व्यापार पनि २१ करोड २० लाख ४९ हजार रुपैयाँ नाफामै छ । फ्रान्ससँग ८ करोड ३१ लख ४ हजार रुपैयाँको व्यापार नाफा छ । स्वीजरल्याण्डसँगको व्यापारमा नेपाल ३ करोड ३३ लाख ६९ हजार नाफा गरेको छ । टर्कीसँगको व्यापार पनि ८ करोड ९० लाख ९१ हजार नाफामा छ । 

अष्ट्रियासँँगको व्यापार ९९ लाख ७८ हजारले नाफामा छ । त्यहाँबाट ४ करोड ४ लाख ६६ हजारको समान आयात गरेर ५ करोड ४ लाख ४३ हजार रुपैयाँको निर्यात गरेको छ । अजरवैजानमा ३ लाख ९१ हजार रुपैयाँको निर्यात मात्रै भएको छ । ब्रुनाई दरुसलमबाट ९ हजारका समानको आयात गरेर २६ लाख ५५ हजारको निर्यात गरि २४ लाख ४६ हजार रुपैयाँ व्यापार नाफा भएको छ । कम्बोडियाबाट एक लाख ६० हजारको आयात गरिएको छ भने १६ लाख ५३ हजारको निर्यात गरि १४ लाख ९२ हजार व्यापार नाफामा देखिन्छ । 

चाँडमा २० लाख ९ हजारको समान निर्यात मात्रै गरिएको छ । क्रोयसियासँगको ३ लाख १८ हजार नाफामै छ । त्यहाँबाट २ लाख एक हजारको समान आयात गरेर पाँच लाख १९ हजार रुपैयाँको निर्यात गरिएको छ । डेनमार्कमा ८ करोड १५ लाख २८ हजारको निर्यात र ६ करोड ६६ लाख ७५ हजारको आयात गरि एक करोड ४८ लाख ५३ हजार व्यापार नाफामा छ । डोमेनिकामा एक लाख ८२ हजार रुपैयाँको निर्यात मात्रै भएको छ । इष्टोनियासँग एक लाख ४० हजारको आयात गरेर १३ लाख १३ हजारको निर्यात गरि ११ लाख ७३ हजार व्यापार नाफा गरेको छ । आइसल्याण्डसँगको व्यापार ५४ लाख ६५ हजार नाफामा छ । लेबनानसँगको व्यापारमा नेपालले ७ लाख ६१ हजार नाफ गरेको छ । 

लाइबेरियासँगको व्यापार पनि २ लाख ९५ हजार नाफा मै छ । त्यहाँ निर्यात मात्रै गरिएको छ । न्युक्यालेडोनिया १९ लाख ५३ हजार नाफामा छ । रसियन फेडेरेसनसँगको व्यापारमा १५ लाख ७ हजार नाफामा छ । स्लोभेकियासँगको व्यापारमा पनि १० लाख ७० हजार नाफामा छ । स्लोभेनियासँगको व्यापार २ लाख ९९ हजार नाफामा छ । उरुग्वेसँग पनि १० लाख १४ हजार रुपैयाँ नाफाकै व्यापार छ । भेनेजुयलासँगको व्यापार पनि १० लाख १४ हजार नाफामै रहेको छ । 

घाटा कति ?
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा डेढ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन र भदौ महिनामा नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँ पुगेको छ । दुई महिनामा नेपालले एक खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । निर्यात भने २० अर्ब ४४ करोड ३० लाख ३२ हजार रुपैयाँको मात्रै छ । 
 

Advertisement

Advertisement

Advertisement