राजावादीहरुको एलाइन्स भन्छ– गणतन्त्र असफल भयो, अब २०४७ को संविधान पुनस्थापन गर

Advertisement

काठमाडौं । राजावादीहरुको एलाइन्स राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनले देशका विद्यमान समस्याहरुको समाधान गर्न वर्तमान संविधान–२०७२ ले नसक्ने ठहर गरेको छ । 

शनिबार पत्रकार सम्मेलन गरेर उसले भनेको छ, ‘पञ्चशिलको सिद्धान्तमा आधारित रही परराष्ट्र नीतिलाई अवलम्बन गरी परम्परादेखि रही आएको पारस्परिक सहयोग र सदभावको सम्बन्धलाई विस्तार एवं सुढृढ गर्न तथा वर्तमान अवस्थामा मित्र राष्ट्रहरु सितको चिसिएको सम्बन्ध तथा कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता अहम विषयहरुको वर्तमान संविधान, २०७२ ले समस्या समाधान गर्न सक्दैन भन्ने राष्ट्रिय प्रजातान्त्रिक गठवन्धन एनडिएको अन्तिम ठहर हो ।’

Advertisement

गठबन्धनले वर्तमान सरकारले लिपुलेक, लिम्पियाधुराका लागि सुरक्षा दिन नेपाली सेनालाई उक्त भु–भागको रक्षार्थ र खटाई नेपाली जनतालाई हाम्रो भूमीको रक्षा भईरहेको छ भन्ने अनुभति दिलाउन नसकेको पनि आरोप लगाएको छ । उसले भनेको छ, ‘तसर्थ जुन संविधानलाई फ्याकेर विदेशीको आडमा संघीयता, धर्म निरपेक्षता र  गणतन्त्र ल्याइयो, अब सोही संविधान २०४७ को  विकल्प नदेखिएको हुंदा २०४७ को संविधानलाई स्थापित गर्न सम्पूर्ण राजावादी, राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी संघसंस्था पार्टी, वुद्धिजिवी, श्रमजिवी, पत्रकार, किसान, यातायात व्यवसायी, उद्योगपति, सन्त, महन्त, हिन्दू–अधिराज्यवादीहरु सम्पूर्ण जन–समुदायलाई एकतावद्ध भई अगाडी बढ्नको लागि आव्हान गर्दछौं ।’ 

गठबन्धनका संयोजक किशोरी महतोले २०६२।६३ को जनआन्दोलनको उपज कथित गणतन्त्रको आगमन भएको र त्यसपछि मुलुकमा दलीय सिन्डिकेटको कोटाबाट २०७२ सालको संविधान सार्वजनिक गरेपछि शान्ति, अमनचयन, विकास निर्माण तथा मित्र राष्ट्रहरुसँगको सदियौं पूरानो प्रगाढ सम्बन्धमाथि कालो बादल मडारिरहेको टिप्पणी गरेका छन् । उनले वर्तमान राजनीतिक स्थितिलाई अहिलेको संविधान २०७२ ले र वर्तमान राजनीतिक व्यवस्थाले समाधान गर्न नसक्ने कुराको पुष्टि भइसकेका पनि दाबी गरे । 

महतोले नेपालमा गणतन्त्र पूर्णरुपमा असफल राजतन्त्र सफल भएको स्पष्ट पारे । उनले भने, ‘राजाहरुको एउटा ढोका खोलिदिनुपर्छ । राजासँग सहमति गरेर २०४७ को संविधान पूर्नवहाली गर्नुको विकल्प छैन् ।’

कार्यक्रममा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव तथा गठबन्धनकी सल्लाहकार अस्मिता भण्डारीले अबको जनगणना २०७८ मा १० वटा धर्मको महलहरुमध्येमा यसपटक अन्य भनेर थपिएको र यो हिन्दूवादीहरुलाई कम देखाउने खेलमा विदेशी शक्ति लागेको गम्भीर आरोप लगाउँदै यसबारे आमजनता सचेत हुनुपर्ने धारणा राखेकी छिन् । 

त्यस्तै उनले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पालाई सम्बन्धित पार्टी र सरकारले कारबाही गर्नुपर्ने माग पनि राखिन् । यदि पार्टी र सरकारले शेर्पालाई कारबाही नगरे आफूहरुले उनी आवद्ध दललाई बहिष्कार गर्ने चेतावनी पनि दिईन् । भण्डारीले राजसंस्थाको आवश्यकता पनि औंल्याईन् । 

त्यस्तै, राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बम, धार्मिक गुरु बलभद्र गुरु, गठबन्धनका सदस्य भैरव कार्की र अधिवक्ता तथा नेपाल दर्शन पार्टीका अध्यक्ष भुवन थापालगायतले गणतन्त्र असफल भएकोले नेपालमा गणतन्त्र असफल भएकोले २०४७ कै संविधानलाई स्थापित गर्नुपर्ने धारणा राखेका थिए । 
 

Advertisement

Advertisement