आलोचित भएपछि हिमालयलाई ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ दिने निर्णयबाट पछि हटे पर्यटनमन्त्री

Advertisement

काठमाडौं । धेरै तिरबाट आलोचना र दबाब भएपछि यति समूहको हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ दिने निर्णयबाट पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पछि हटेका छन् । 

नेपाल वायुसेवा निगमका कर्मचारी विरोधमा उत्रिने स्थिति सिर्जना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई बोलाएर असोज ४ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । निगमले सुरुवाती दिनदेखि त्रिभुवन विमानस्थलमा सबै जहाजहरुलाई प्रदान गर्दै आएको ग्राउन्ड ह्याण्डलिङ सेवा खण्डिकरण गरी हिमालयले आफ्ना एयरलाइन्सहरुमा आफै गर्न दिनेसक्ने गरी लाइसेन्स दिइएको थियो । 

Advertisement

उक्त निर्णयसँगै निगमका दुई कर्मचारी संगठनहरुले निर्णय फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । उनीहरुले हवाई माफियाको इशारामा पर्यटनमन्त्री भट्टराई र निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले हिमालयलाई ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ दिएको बताएका थिए । 

करोडौं रुपियाँको आर्थिक चलखेलमा हिमालयलाई ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’दिएको तथ्य पहिलो पटक कर्पोरेट नेपालले सार्वजनिक गरेको थियो । उक्त तथ्य बाहिरिएसँगै मन्त्री भट्टराईमाथि चर्को आलोचा र निर्णय फिर्ता गर्न दबाब परेको थियो । 

आज उनले प्राधिकरणका महानिर्देशक राजन पोखरेल र पर्यटन सचिव केदारबहादुर अधिकारीलाई बोलाएर हिमालयलाई दिएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’को लाइसेन्स यथास्थितिमा राख्न निर्देशन दिएका हुन् । हिमालय एयरलाइन्स चिनियाँहरुको मुख्य लगानी रहेको कम्पनी हो जसले थप जहाजहरुसमेत ल्याउने तयारी गरेको छ । 

यस्तै, त्रिभुवन विमानस्थलमा ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ गर्दै आएका थाई एयर र एयर इन्डियाको लाइसेन्स पनि फिर्ता गर्ने तयारी गरिएको छ । निर्देशिकाअनुसार ग्राउन्ड ह्याण्डलिङ नगरेको भन्दै उनीहरुको लाइसेन्स रद्द गर्न लागिएको स्रोतको भनाई छ । 

 

Advertisement

Advertisement