अपिको आव्हानः माथिल्लो चमेलिया बनाउन सुरु गर्यौं, हकप्रद सेयरमा सहभागी भइदिनुहोला

Advertisement

काठमाडौं । अपि पावर लिमिटेडले आफ्नो तेस्रो जलविद्युत आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माणको काम शुरु गरेको छ  । 

दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरिने यो आयोजना अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरी ४० मेगावाट क्षमताको उर्जा उत्पादन गरिने जनाइएको छ । 

Advertisement

यसबाट उत्पादित बिजुली १६ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाईनमार्फत नेपाल विद्युत प्राधिकरणको वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । 

उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । यस आयोजनाको विद्युत बिक्रीबाट प्रथम वर्ष रु. १६२ करोड आय आर्जन हुने छ । माथिल्लो चमेलिया निर्माणका लागि सात अर्ब ४० करोड रुपियाँ लगानी हुने अपि पावरले जानकारी दिएको छ । 

कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम दुई अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाएको छ । बाँकी ७० प्रतिशतले हुने रकम पाँच अर्ब १८ करोड हिमालन बैंकको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंक सहभागी भई आयोजनाको सह–वित्तियकरण बनाई बैंक ऋण प्रवाह गर्ने  यसअघि नै सम्झौता भइसकेको छ । 

आयोजना निर्माणका लागि शेयरधनीहरुबाट स्वपुँजी जुटाउनका लागि चुक्ता पूँजी एक अर्ब १३ करोड ४० लाख रुपियाँको २ः०.४७ को अनुपातमा ५६ करोड ७० लाख रुपियाँको हकप्रद शेयर जारी गर्नका लागि मिति नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीको हालको चुक्ता पूँजी रु.११९ करोड रहेको छ । आर्थिक वर्ष २०७५।७६ मा कम्पनीले ५ प्रतिशतका दरले शेयरधनीहरुलाई वोनश शेयर प्रदान गर्ने निर्णय गरेको छ । आव २०७५।७६ को ५ प्रतिशतको वोनश शेयर सम्बन्धित शेयरधनीहरुको खातामा हाल्ने हो भने कम्पनीको चुक्ता पूँजी एक अर्ब १९ करोडबाट पाँच प्रतिशतले बढ्न जानेछ र कम्पनीलाई प्राप्त १ बराबर ०.४७ को हकप्रद शेयरको समीकरण बिग्रन जाने भन्दै अपिले यस कारण हकप्रद जारी गरेपछि कम्पनीले ५ प्रतिशतको बोनश शेयर सम्बधित शेयरधनीहरुको खातामा जम्मा गर्ने बताएको छ । 

यसपछि कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा आर्जित नाफाबाट दोहोरो अंकमा शेयरधनीहरुलाई लाभांश उपलब्ध गराउने दावी गरेको छ । कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘कोरोना भाइरस (कोभिड १९) महामारीको अवस्था सामान्य बन्नासाथ कम्मनीले हकप्रद शेयर आव्हान गर्ने भएको हँुदा आफूले ८.५ मेगावाट क्षमताको जलविद्युतमा गरेको लगानीले ५६.५ मेगावाटको स्वामित्व पाउँने सुनौलो अवसरलाई सदुपयोग गरी अपि पावर कम्पनीले जारी गर्ने हकप्रद शेयरमा लगानी गर्नुहुन सम्पूर्ण शेयरधनी लगानीकर्ताहरुलाई आव्हान गर्दछौं ।’ 
अपिले ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत र सोही नदिनमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ । 

Advertisement

Advertisement