हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’को लाइसेन्स दिने निर्णयविरुद्ध उत्रिए निगमका कर्मचारी

Advertisement

काठमाडौं । यति समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा नेपाल वायुसेवा निगमले प्रदायन गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवाबाट हिमालय एयरलाइन्सलाई आफ्ना जहाजहरुको ग्राण्ड ह्याण्डलिङ आफै गर्न पाउने गरी ‘सेल्फ ग्राण्ड ह्याण्डलिङ’को लाइसेन्स दिएको विरोधमा निगमका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

निगमभित्रको नेवानि कर्मचारी संघले सोमबारबाट चरणवद्ध आन्दोलन सुरु गरेको हो । निगमले सुरुदेखि प्रदान गर्दै आएको सेवाबाट छुट्टाएर हिमालयलाई सेल्फ ग्राण्ड ह्याण्डलिङको लाइसेन्स दिने कुरा हवाई माफियाको इशारामा निगमलाई सिध्याउने उद्देश्यबाट गरिएको भन्दै संघले पर्यटन तथा नागरिक उड्डउन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण निर्णयबाट फिर्ता नभए सम्पूर्ण सेवा ठप्प पार्नेसम्मका आन्दोलनमा उत्रन बाध्य हुने बताएको छ । 

Advertisement

पर्यटनमन्त्री योगेश भट्टराई र निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले करोडौं रुपियाँ कमिशनको लोभमा परेर निगम र निगमका कर्मचारीहरुलाई अहित हुने निर्णय गरेको संघका अध्यक्ष मानबहादुर कुँवरको आरोप छ । उनले निगमका कार्यकारी अध्यक्ष घिमिरेले उद्दार उडानदेखि विमान भाडाका नाममा करोडौं रुपियाँ अनियमितताको खेल सुरु गरेको भन्दै यसलाई संरक्षण गर्ने काम मन्त्री भट्टराईबाट भएको बताएका छन् । 

ग्राण्ड ह्याण्डलिङ सेवा विदेशी कम्पनीलाई दिने कुरा देशको पनि हितमा नरहेको निगमका कर्मचारीहरुको भनाई छ । उनीहरुले अहिले हिमालयलाई यस्तो लाइसेन्स दिने कुरा सुरुवात हो भन्दै उनीहरुले कमिशनको लोभमा परेर अरु विमान सेवामा पनि यस्तो लाइसेन्स दिइने र राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवालाई चल्न नसक्ने स्थितिमा पुर्याउने डिजाइन भएको बताएका छन् । निगमले ग्राण्ड ह्याण्डलिङबाट बार्षिक डेढ अर्ब आम्दानी गर्दै आएको थियो । 

Advertisement

Advertisement