सरकारले बंगलादेशसँग पैंचो मागेको रासायनिक मल धान पाकेपछि आइपुग्ने

Advertisement

काठमाडौं । धान रोप्ने र गोड्ने बेलामा ल्याउनुपर्ने रासायनिक मल सरकारको कमजोरीका कारण धान पाकेपछि मात्र आइपुग्ने भएको छ। धानका लागि ५० हजार मेट्रिक टन युरिया मल ल्याउने जिम्मा पाएका दुई कम्पनीले काम नगरेपछि सरकारले तिनीहरूसँगको सम्झौता तोडेर बंगलादेशबाट सापटी ल्याउने निर्णय गरेको थियो।

बंगलादेशसँग सापटी मागिएको ५० हजार मेट्रिक टन युरिया मल पनि प्रक्रियागत झन्झट र ढिलासुस्तीले कात्तिक–मंसिरमा मात्र आइपुग्ने भएको छ। त्यो मल गहुँलगायत हिउँदे तरकारी बालीमा मात्र प्रयोग गर्न सकिने कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले बताए। ‘ठेकेदारले सम्झौताअनुसार मल नल्याएपछि धान गोड्ने बेला उपलब्ध गराउन सकेनौं,’ भण्डारीले भने, ‘बंगलादेशबाट ल्याइने पैंचो मल अब गहुँका लागि प्रयोग हुन्छ।’

Advertisement

धान रोप्ने बेला पनि उपलब्ध गराउन नसकेको रासायनिक मल गोड्ने बेला पनि उपलब्ध गराउन नसक्दा सरकारको चौतर्फी आलोचना भएको थियो। त्यसपछि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको आग्रहमा गत भदौको दोस्रो साता प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री सेख हसिनासँग मल पैंचो दिन आग्रह गरेका थिए। आग्रह स्विकार्दै बंगलादेशकी प्रधानमन्त्रीले उपलब्ध गराउने बताए पनि त्यो मल कात्तिक–मंसिरमा मात्र आइपुग्ने जनाइएको छ।

किसानले धान रोप्दा र गोडमेल गर्दा पनि रासायनिक मल पाउन नसकेको राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले बताए।

नागरिक दैनिकबाट । 

Advertisement

Advertisement