भैँसीधनीलाई रु. ३ हजार सुत्केरी स्याहार प्रोत्साहन भत्ता !

Advertisement

रामेछाप । नगरलाई दूधमा आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदैछ । नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो । 

नगरपालिकाले कार्यविधि नै बनाएर चालु आर्थिक वर्षमा ६०  भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी गरेको छ । नगरपालिकाले ३० दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आग्रह गर्दै सूचना जारी गरेको छ । 

Advertisement

मापदण्ड नपुगेका, म्यादपछि प्राप्त भएका र बढीमा तीन माउ भैँसीभन्दा बढी सङ्ख्यामा प्राप्त भएका प्रस्तावलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्थली नगरपालिका, पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताए । 

उनका अनुसार भैँसीको सुत्केरी भत्ता प्राप्त गर्न भैँसी सुत्केरी भएको निवेदन, वडा कार्यालयको सिफारिस, सम्बन्धित भैँसीधनी कृषकको नागरिकता, मान्यताप्राप्त पशु बीमा कम्पनीबाट भैँसी बीमा गराएको पोलिसीको प्रतिलिपि आवश्यक पर्छ ।

नगरपालिकाका उपप्रमुख मायाकुमारी कार्कीले कृषकलाई प्रोत्साहनस्वरुप भैँसीलाई सुत्केरी भत्ता वितरणको काम अगाडि बढाइएको बताइन् । मापदण्ड पूरा गरेर आउने कृषकलाई रु तीन हजार भैँसी सुत्केरी भत्ता उपलब्ध गराइन्छ । 

गत वर्षदेखि सुत्केरी भत्ता वितरणको काम अगाडि बढाएको नगरपालिकाले प्रोत्साहनभत्ता वितरणको कामलाई निरन्तरता दिने जनाएको छ ।

Advertisement

Advertisement