'मार्केटिङ कस्ट'का नाममा बार्षिक थप सवा दुई अर्ब तिर्न आईओसीको एनओसीलाई दबाब

Advertisement

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालमा पेट्रोलियम पदार्थ बिक्री गरेबापत पाउने मार्जिन रकम वार्षिक करिब सवा दुई अर्ब रुपियाँ बढाउन दबाब दिएको छ। आइओसी भारत सरकार स्वामित्वको सार्वजनिक संस्था हो।

आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ बिक्री गर्दा अन्तर्राष्ट्रिय मूल्यका आधारमा दुई प्रतिशत रकम मार्जिन राखेर इन्धन बिक्री गर्दै आएको छ। अहिले पेट्रोल र डिजेल बिक्री गरेबापत आइओसीले पाउने मार्केटिङ कस्ट (लागत) शीर्षकको रकम एक लिटरमा ५६ पैसा भारु (८९ पैसा नेपाली) बढाएर पठाएको छ। लिटरमा ८९ पैसा बढ्दा यहाँ आयात हुने वार्षिक २५ लाख किलोलिटर पेट्रोलियम पदार्थका आधारमा एक वर्षमा करिब सवा दुई अर्ब रुपियाँ बढी भुक्तानी गर्नुपर्ने देखिन्छ। आयात बढ्दै जाँदा यो रकम पनि बढ्छ।

Advertisement

मार्केटिङ कस्ट शीर्षकको रकम बढाउन आइओसीका अधिकारीले दबाब दिएको आयल निगमका एक उच्च अधिकारीले बताए। ‘आइओसीले डिजेल र पेट्रोलको मार्केटिङ कस्टमा ५६ पैसा भारु बढाउन बिलिङ गरेर पठाएको छ,’ ती अधिकारीले भने, ‘तर यस्तो थप रकम तिर्नुपर्ने कुनै कारण छैन।’

आइओसीले बढाएर पठाए पनि निगमले भुक्तानी दिएको छैन। आइओसीले नेपालमा विगतमा युरो–४ मापदण्डको इन्धन बिक्री गर्दै आएकोमा अहिले युरो–६ मापदण्डको तेल बढाउँदा लागत बढेको दाबी गरेको छ। आइओसीले निगमसँग मार्केटिङ कस्ट र मार्केटिङ मार्जिन शीर्षकमा थप रकम लिएर मूल्य निर्धारण गर्छ।

नागरिक दैनिकबाट । 

Advertisement

Advertisement