कोरोना डायरीः आइसोलेशन बेड नम्बर ८ बाट

Advertisement

नारायण पौडेल

असोज महिनाको पहिलो हप्ता परेको झरी । पातलो टिसर्टका भरमा दिनभर स्कुटर चढेर शहर डुले । रुघा खोकी र ज्वरोले समाउनु स्वभाविक थियो । तर छाति पनि दुख्न थालेपछि भने अलिअलि डर लाग्यो । असोज ११ गते आइतबार कोभिड १९ टेष्ट गर्ने निधो गरेँ । परीक्षण गर्नेे निधो गरेसँगै भेटघाट अन्त्य गरिएको थियो । अपरान्ह बिध ल्यावमा स्वाव दिएपछि भने थप सचेतता अपनाइयो । रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने, छाति दुख्ने लक्षण देखिएकै थियो ।

सोमबार बिहानैदेखि रिपोर्टको प्रतिक्षामा थिएँ । ल्यावले विहान १० बजे रिपोर्ट आउँछ भनेको थियो । ९ बजेर ५६ मिनेटमा मोबाइलबाट रिपोर्ट हेर्ने प्रयास गरेँ, फेला पर्यो ‘पोजेटिभ’ । 
सँगै रहेको साथी अशोक थापालाई भने ‘म त पोजिटिभ आएछु ।’ उसले ढाढस दिँदै भन्योः चिन्ता नगर केही हुन्न । त्यतिकैमा शुक्रबारदेखि सम्पर्कमा रहेका सबैलाई फोन गरेर आफू पोजिटिभ देखिएकाले सचेत रहन खबर गरेँ । म शुक्रबारै संसदको विकास तथा प्रविधि समितिमा पनि गएको थिएँ ।

सभापति मा.कल्याणी खड्कालाई खबर गरेर भनेँ । ‘दिदी रिपोर्ट पोजिटिभ आएको छ, अस्पताल जानु पर्ला ।’, उहाँले ‘नआत्तिनु केही हुन्न, अस्पतालको व्यवस्था गरौंला ।’ भन्नुभयो । मैले पाटन अस्पतालमा कोरोना संक्रमितको राम्रो हेरचार हुन्छ भन्ने सुनेको थिएँ, र मिलेसम्म त्यहिँ जाने इच्छा प्रकट गरेको थिएँ । एकै छिनपछि सभापतिज्यूले फोन गरेर पाटनमा बेड खाली नभएकाले बिर अस्पतालमा कुरा गरेको जानकारी दिनु भयो ।

बिर अस्पतालका डा. अच्युत कार्कीलाई फोन लगाएँ । उहाँले के के भएको छ ? भनेर सोध्नु भयो । मलाई बाहिर चर्चा गरिएका अधिकांश लक्षण देखिएको सबिस्तार सुनाएँ । डा. कार्कीले आधा घण्टामा खबर गर्छु भन्नु भयो, र केही छिनमै ‘बिर अस्पताल आउनु’ भन्ने जानकारी आयो । ९ बजेर ५६ मिनेट जाँदा कोरोना संक्रमणको रिपोर्ट जानकारी पाएको म १२ः३० बजे आफैं स्कुटर चलाएर बिर अस्पताल पुगे । 

गेटसम्म छोड्न साथी अशोक थापा, भाई भुवन श्रेष्ठ पुगेका थिए । उता, कर्पाेरेट नेपालका सहकर्मी खेम अधिकारी र आशीष ढुंगाना पनि बिर अस्पतालको गेटमै थिए । 
अस्पताल गेटबाट भित्र छिरेपछि केही डर र केही आशाा सहित कोभिड आइसोलेशन कक्षभित्र छिरेँ । सबैले छाडेको ८ नम्बर बेड मलाई कुरिरहेको थियो । र त्यहि ८ नम्बर बेडमा कोरोनासँग जुधिरहेको छु । 

लापरवाह म र संक्रमणपछिको सन्त्रास
अमेरिकी राष्ट्रपतिलाई कोरोनाबारे लापरवाह उच्च पदस्थ मानिन्छ । म पनि भित्रभित्रै सचेत हुनुपर्छ भन्ने सोच्ने तर बाहिर बाहिर साह्रै लापरवाही गर्नेमा पर्थे । 
प्रहरीले गाली गर्छन्, साथी भाईले गाली गर्छन् भनेर मात्रै मास्क लगाउँथे । भेटघाटमा जाँदा बाहेक मास्क कहिल्यै नलगाउने म । स्यानिटाइजर त मुस्किकले एक दर्जन पटक मात्रै प्रयोग गरेँ होला । अर्थात म कोरोनाको मतलबै नगर्ने दुलर्भहरुमध्येको एक थिएँ । 

तर जब संक्रमित भएँ, मलाई लाग्यो मैले धेरैलाई संक्रमित बनाएँ होला । संगतमा भएका सबै चिन्तित थिए । शुक्रबार सिंहदरबारस्थित विकास तथा प्रविधि समितिमा सभापति, पूर्व माननीय दाई रामकुमार भट्टराई, समितिका अन्य कर्मचारीहरुसँग भेटघाट गरेको थिएँ । मेरो कारणले समिति सिल गरियो । सोही दिन केहि भाई बहिनीहरुसँग जमलमा मःम खाएको थिएँ । त्यता पनि त्रास नै भयो । आफ्नो अफिस कर्पाेरेट नेपालमा नियमित काम गरिरहेको थिएँ । त्यहाँ झन त्रास उत्पन्न भयो । 

चकटी हाउस रेष्ट्रो एण्ड बारमा महेश श्रेष्ठ दाई, साथी अशोक, भुवन भाई र भाञ्जासँगको नियमित सम्पर्क कायमै थियो । त्यता पनि ठूलै तनाब भयो । आफैलाई लागिरहेको थियो की मेरो लापरवाहपनले धेरैलाई कोरोना सर्यो । तर मसँग सम्पर्कमा रहेका कसैलाई पनि संक्रमण देखिएन् । बेड नम्बर ८ को बसाई त्यसकारण पनि थप सुखद महशुस गर्दैछु । 
मलाई कहाँबाट सर्यो ? भन्ने कुनै भेउ पाउन सकिएको छैन । तर धन्न, मबाट चाँही कसैमा पनि संक्रमण फैलिएको रहेनछ । सम्पर्कका सबैले परीक्षण गराए, सबका सब नेगेटिभ रिजल्ट आएको छ । 
बेड नम्बर ८ को कथा 
असोज ११ गते स्वाव दिएको मेरो रिपोर्ट असोज १२ गते सोमबार आएको थियो । रिपोर्ट आएको एकाध घण्टामै म बिर अस्पतालको आइसोलेशन वार्ड नम्बर ८ मा पुगिसकेको थिएँ । किन की मलाई कोरोनाका अधिकांश लक्षण देखिएका थिए । म यतिबेला बेड न. ८ मा छु । बिहान ६ बजे पिपिई सेट लगाएर नर्स आउँछन् । र्याप गरिएको पेपरमा औषधि पाइन्छ । ६ देखि ७ बजेकै बीचमा एक कप दुध र सात पिस बिस्कुट पाइन्छ । 

१० बजे फेरि नर्स आउँछन् । बिहान झै औषधि दिन्छन् । ११ देखि १२ बजेको बीचमा खानामा दाल, भात, तरकारी र मासुको सेट आउँछ । कोरोनाका कारण स्वाद थाहा नपाउने जिब्रो अनि बिरामीका लागि तयार पारिएको परिकारलाई मध्यनजर गर्दै खाना खाइन्छ । २ बजे फेरि एक पटक औषधि आउँछ, त्यसको केही क्षणमै पुनः एक कप दुध, एउटा अण्डा र आधा मुठि चना पाइन्छ । 

साँझ ६ बजे आसपास बेलुकीको खाना आउँछ । राति १० बजे पुनः नर्सले दिनको अन्तिम औषधि दिन्छन् । म बसिरहेको न्यूरो सर्जिकल वार्डमा १० वटा बेड छन् । म आउँदा तीन बेड खाली थिए । बीचमा ६ वटा बेड नै खाली भए । यतिबेला भने सबै बेड भरिएका छन् । 

दीर्घ रोगीका पीडा
म आएको दोश्रो दिन किड्नीको नियमित डायलाइसिस गराईरहेकी एक जना दिदीले प्राण त्यागिन् । हामीसँग टुलुटुलु हेरिरहनुको विकल्प थिएन् । अहिले पनि मेरो छेऊमा बालाजुका एक जना वृद्ध बा छन् । किड्नीको नियमित डायलायसिस गराईरहेका उनी छटपटिएको देख्दा साहै्र पीडा हुन्छ । तीन दिन अघि मात्रै ठ्याक्कै अगाडि पट्टीको बेडमा धादिङका एकजना भाई आईपुगेका थिए । उनी पनि किड्नीको नियमित डायलाइसिस गराइरहेका रहेछन् । 

मेरो अर्काे छेउको बेडमा भने काभ्रे की एकजना वृद्ध आमा छिन् । उमेरले ७७ वर्ष पुगेकी उनलाई पनि बेला बेलामा समस्या देखा पर्छ । उमेर कटिसकेका र दीर्घ रोगको चपेटामा रहेकाहरुलाई कोरानाले साह्रै पिरोलेको देखिरहेको छु । 

कमल जी मेरो साथी
म भर्ना भएको भोलिपल्टै फोन सम्पर्कमा जोडिए क्लिकमाण्डू डटकमका कमल कुमार बस्नेत । उनलाई पनि कोरोना पोजिटिभ देखिएको रहेछ । बेड मिलाएर खबर गरेँ, उनी पनि आए । त्यसको पर्सीपल्टै उनकी श्रीमतिलाई पनि संक्रमण देखिएछ । अहिले चिनजानका ३ जना भएका छौं ।  हाम्रो वार्डमा रहेका सबै अब एउटै परिवारका सदस्य जस्तै भइसकेका छन् । बाहिरबाट आवश्यक समान मगाउन पाउने सुविधा पनि पाइएको छ । 

कोरोना र सरकारको भूमिका 
बाहिर कोरोना संक्रमण नियन्त्रण र रोकथामबारे सरकारी कदमको व्यापक आलोचना भइरहेको छ । तर बिर अस्पतालको आइसोलेशन नम्बर ८ बाट मैले भने गाली गर्नुपर्ने खासै कारण देखिरहेको छैन् । शक्तिशाली तथा सम्पन्न देशका सरकारहरुलाई हम्मेहम्मे पारिरहेको कोरोनाले हाम्रो जस्तो क्षमताहिन राज्य संयन्त्रलाई कडा चुनौती दिनु नौलो कुरा भएन् । अहिलेसम्म कोरोनाको खोप विकास भैसकेको छैन् । विकास भैसकेर पनि कति समयपछि नेपाल आईपुग्ने हो ठेगान छैन् । अहिलेका लागि कोरोनासँगको लडाईमा सचेततता अपनाउनु भन्दा अर्काे गतिलो उपाय कुनै देखिन्न ।
 
बिरमा डाक्टरहरुको सुपरभिजनमा मूलतः नर्सहरुको हातमा कोरोनाको उपचार छाडिएको छ । मलाई पनि भर्ना भएकै दिन डा. अनामिकाले फोन गर्नु भएको थियो । त्यसपछि आक्कल झुक्कल डाक्टरहरु आउछन् । नत्र अधिकांश समय नर्सहरुकै रेखदेखमा छौं । दुई छाक सरकारी भात खाएर अस्पतालमा कोरोनासँग लडिरहेको छु । निजी अस्पताल हुन्थ्यो भने कम्तिमा पनि पाँच÷सात लाख खर्च हुन्थ्यो होला । तर आजसम्म मेरो खल्तिको एक रुपैयाँ खर्च भएको छैन् ।

वेपरवाह हुँदाको परिणाम भनौं वा एकपटक सबैलाई लाग्ने रोग थियो, मलाई अहिले नै लाग्यो भनौं तर नयाँ पाठ सिकिएको छ । फोन, म्यासेज, फेसबुकबाट स्वास्थ्य लाभको कामना गर्नु हुने हजारौं आफन्तजन, साथीभाई र अग्रजहरुलाई धन्यवाद । तपाईहरुको यहि सद्भावबाट प्राप्त आत्मबलले अबको एक हप्ताभित्रै निको भएर संक्रमितहरुका लागि प्लाज्मा उपलब्ध गराउन तयार हुनेछु । 

Advertisement

Advertisement

Advertisement