यसअघि तामझामसहित भएको एनआरएनए विश्व सम्मेलन यस पटक भर्चुअल माध्यमबाट

Advertisement

काठमाडौं । यसअघि तामझामका साथ काठमाडौंमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो विश्व सम्मेलन यस पटक भर्चुअल माध्यमबाट हुने भएको छ । 

शुक्रबारदेखि सुरु हुने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी ओलीले गर्ने जनाइएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको संघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

Advertisement

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसहित सरकारका प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् ।

साथै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ ।  सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् ।

विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ । साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा हुने  सम्मेलनमा काठमाडौँ विश्व विद्यालयको सहकार्य रहनेछ । सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने छन् ।  यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना  र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरु  माथि घनिभूत छलफल  गरिनेछन् ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा  नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान  लगायतका सत्रहरु समावेश गरिएका छन् । यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि , वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरुमा विभिन्न विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुनेछ  । ती कार्यपत्र माथि सम्बन्धित विषयका विज्ञहरुले छलफल गर्नुहुनेछ । साथै सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुने तय भएको संघले जनाएको छ । 

Advertisement

Advertisement