आइसोलेशन डायरी २ः अव्यवस्थाको पराकाष्ठा हेर्न वीर अस्पताल जाऔं

Advertisement

असोज ११ गते कोरोना परीक्षण गरी असोज १२ गते रिपोर्ट प्राप्त भएपछि वीर अस्पतालको आइसोलेशनमा छु । र, यतिबेला दोस्रो ब्लग लेख्दैछु । अघिल्लो ब्लग लेख्दै गर्दा बेड नम्बर ८ मा थिएँ । आन्तरिक व्यवस्थापनका लागि भन्दै केही दिनदेखि अर्काे वार्डको २० नम्बर वेडमा छु । म कोरोनाका अधिकांश लक्षण देखिएपछि अस्पताल भर्ना भएको हुँ । पाटन जान चाहेको थिएँ । तर वेड खाली नभएपछि वीरमा आइपुगेँ । 

वीर अस्पतालमा कोरोना संक्रमितहरुको उपचार कसरी भैरहेको छ भन्ने तथ्य यसअघि कै ब्लगमा उल्लेख गरिसकेको छु । यस ब्लगमा भने म वीर अस्पतालको कोभिड उपचारमा देखिएका केहि लापरवाही र अव्यवस्थाको पराकाष्ठाबारे चर्चा गर्नेछु । अहिले म बसेको वार्डमा ३५५ नम्बर र ३२२ नम्बरमा फोन गरेर नर्सहरुसँग सोधपुछ गर्ने व्यवस्था छ । साह्रो गाह्रो पर्यो भने त्यहि नम्बरमा फोन गरेर खबर गर्नुपर्छ । 

बेड नम्बर ८ देखि २० सम्मको यात्रा 
असोज ११ गते स्वाव दिएको मेरो रिपोर्ट असोज १२ गते सोमबार आएको थियो । रिपोर्ट आएको एकाध घण्टामै म वीर अस्पतालको आइसोलेशनमा पुगिसकेको थिएँ । किन की मलाई कोरोनाका अधिकांश लक्षण देखिएका थिए । सदा झै बिहान ६ बजे पीपीई सेट लगाएर नर्स आउँछन् । र्याप गरिएको पेपरमा औषधि दिन्छन् । ६ देखि ७ बजेकै बीचमा एक कप दुध र सात पिस बिस्कुट पाइन्छ । 

विहान १० बजे फेरि नर्स आउँछन् । बिहान झै औषधि दिन्छन् । १० देखि सवा १० बजेको बीचमा खानामा दाल, भात, तरकारी र मासुको सेट आउँछ । दिउँसो २ बजे फेरि एकपटक औषधि आउँछ । त्यसको केही क्षणमै पुनः एक कप दुध, एउटा अण्डा र आधा मुठि चना पाइन्छ ।  साँझ ६ बजे आसपास बेलुकीको खाना आउँछ । राति १० बजे पुनः नर्सले दिनको अन्तिम औषधि दिन्छन् । यो क्रम ८ देखि २० नम्बर बेडसम्म आईपुग्दा नियमित चलिरहेको छ ।
 
तर २० नम्बरमा आईपुगेपछि केहि परिदृश्य फेरिएका छन् । ८ नम्बरमा आक्कल झुक्कल देखिएका डाक्टर २० नम्बरमा आइपुग्दा गायब भएका छन् । गुनासो गर्दै फोन, एसएमएस गर्दा ‘हुन्छ म मिलाउँछु, सुधार्छु’ भन्ने फोकल पर्सन डा. अच्युत कार्कीले रेस्पोन्स गर्न छोडेका छन् । ‘म रोटी मात्रै खान्छु, सुगर, प्रेसर रोग छ’ भन्नेहरुलाई घरी घरी नामै लेखाएको छैन भन्दै ‘भात भिडाइन्छ’ र उनीहरु भोकै बस्न बाध्य छन् । हरेक साँझ भोलि को को के के खाने हो भन्ने सोधनी हुन्छ । लिखित रुपमै क कसले रोटी खान चाहेको हो भन्ने सूचि बुझाइन्छ । तर बिहान तपाईंको नाममा रोटी लेखिएकै छैन भन्दै भात भिडाइन्छ । 

हामी जस्ता भात छोडी रोटी रोज्नेहरुले त जसो तसो खान्छौं । तर सुगर प्रेसरका बिरामी भने नाक खुम्च्याउँदै त्यो छाक भोकै बस्न विवश हुन्छन् । घरी घरी खाना खाने समयमै भुई पुछ्ने र डिसइन्फेक्सन गर्ने टिम आईपुग्छ । 

सरकारी खर्च र व्यवस्थापनको पराकाष्ठा
सरकारले सरकारी अस्पतालहरुमा दुई छाक भात खुवाएर कोरोना संक्रमितहरुको निःशुल्क उपचार गराईरहेको छ । एकजना संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउँदा दैनिक कति खर्च लाग्छ ? त्यो सरकारले सार्वजनिक गर्ला । तर त्यसरी गरिएको खर्चले संक्रमितलाई राज्य प्रणाली प्रति विश्वास बढाईरहेको छ की छैन ? त्यो महत्वपूर्ण पक्ष हो । 
अहिले झण्डै दुई तिहाई बहुमतसहित नेकपाले सरकार चलाईरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा गरिएको प्रयासलाई नै देखाएर अर्काे निर्वाचनममा स्पष्ट दुई तिहाई ल्याउने सपना पनि देखिएको होला, जुन स्वभाविक पनि हो । 

तर वीर अस्पतालमा बसेका दुई तिहाई बढी संक्रमितले सरकारलाई सरापिरहेका छन् । उनीहरुले सरकारलाई मात्रै होइन, सिंगो प्रणालीलाई सरापिरहेका छन् । नसरापुन पनि किन ? ७५ वर्षका एक जना बुढा बाले स्वाब दिएको ६ दिनसम्म रिपोर्ट पाएनन् । छौठौं दिनको उत्तरार्धमा भित्तो समाउँदै दुई तला झरेर आफैं रिपोर्ट लिन पुग्नु पर्यो । उनी भन्दै थिए, ‘बालुवाटारमा बस्ने सुर्य थापाहरुलाई चार दिनमा कोरोना निको भयो रे, रिपोर्ट पनि कति चाँडो आएको, मेरो त रिपोर्ट आउनै ६ दिन लाग्यो, लोकतन्त्र यीनै थापाहरुका लागि त रहेछ ।’

उपचार भनेको दालभात नै हो ? 
उपचार भनेको दाल भात र सिटामोल मात्रै पक्कै पनि होइन् होला । कोरोना पीडितलाई रोगसँगै मनोवैज्ञानिक त्रासले सताईरहेको छ । सरकार भात र सिटामोल खुवाएर दायित्व पूरा गरिरहेको छ । एउटा डाक्टरले एक दिनमा एक पटक अनुहार देखाएर –‘तपाईंहरुलाई कस्तो छ ? आत्तिनु पर्दैन, रिपोर्टहरु ठीक छन्’, मात्रै भनिदिँदा पनि ठूलो आत्मविश्वास बढ्छ । 

तर म आफैंले १३ गते ब्लड स्याम्पल दिएको त्यसको रिपोर्ट के आयो भन्ने अझै सुन्न पाएको छैन् । एक हप्तापछि आज हाम्रो वार्डमा डाक्टरले अनुहास देखाएका थिए, त्यो पनि पाँच सात मिनेट पनि नबसी, सबै बिरामीको हाल खबर समेत नसोधी उनी उम्किए ।

एक्सरे गर्न एक हप्ताः रिपोर्ट आउन ?
मलाई कोरोनाका अधिकांश लक्षण देखिएकैले म परीक्षण गराउँदै अस्पतालसम्म आएँ । १२ गते अस्पताल आएको मैले पहिलो दिन देखि नै ‘मलाई छातिमा समस्या छ, एक्स रे गर्नु परो’ भनि रहेँ । त्यो साइत असोज २० गते मात्रै जुर्यो । तर रिपोर्टमा के लेखिएको छ ? अझै पत्तो छैन् । ३५५ मा फोन गरेर नर्सहरुलाई सोँधे, ‘सिस्टर म २० नम्बरको बिरामी, मेरो एक्स रे रिपोर्ट आयो की नाई ?’

जवाफ आयो–‘रिपोर्ट त थुप्रै आएको छ, क कसको हो चाँही हेरेको छैन् ।’  मैले फेरि सोधे ‘मलाई शुरुदेखि नै छाति दुखिरहेको थियो, डाक्टरलाई सोधि दिनु पर्यो ।’
नर्सले डाक्टरलाई सोधिन, डाक्टर साब २० नम्बरको बिरामीको एक्सरे रिपोर्ट कस्तो छ रे ? ‘सबैको रिपोर्ट राम्रो छ रे भनिदिनु’, भन्ने डाक्टरको आवाज फोनमै सुनियो ।  
र, नर्सले पनि दोहोर्याइन–‘सबैको रिपोर्ट ठिक छ रे है...।’

तर रिपोर्टमा के ठीक थियो ? पत्तो छैन् । अघिल्लो दिन नै मैले  न्याम्सका उप कुलपति प्रा. डा. डिएन साहलाई मेसेज गरेको थिएँ । उनले ३ः ५६ बजे मेसेज फर्काउँदै भने–मिटिङमा थिएँ, रेडियोलोजी डिपार्टसँग सम्पर्क गर्दा तपाईको छातिको रिपोर्ट नर्मल छ रे ।’ एक्सरे गरेको चौथो दिन त्यो पनि सम्बन्धीत फाँटबाट होइन उप कुलपतिबाट रिपोर्टबारे जानकारी लिनुपर्ने अवस्था भोगियो । के वीर अस्पतालमा प्रणालीले काम गर्दैन् ?

कोरोना संक्रमित नै बिरामी जाच्ने मूल डाक्टर 
कोरोना वार्डमा एक जना युवक छन्, जसलाई सबै बिरामीहरुले ‘मुल डाक्टर’ भन्छन् । उनी पनि कोरोना संक्रमित नै हुन् । तर उनी सबै संक्रमितहरुको पीपी र सुगर अनि पल्स जाच्दै हिँड्छन् । नर्सहरुले उनलाई दिनमा एक दर्जन पटक जति छेउमै रहेको नम्बरमा फोन गर्छन् । नयाँ आउने बिरामीहरु पनि उनलाई यहाँको मूल डाक्टर नै ठान्छन् । 
तर उनी कुनै एक मन्त्रालयको करारका सवारी चालक हुन् रे । हातभरी ट्याटु खोपेका उनी अन्य बिरामी र आफ्नै लागि सामान किनमेलका गर्न महाबौद्ध र असनका गल्लीसम्म धाउँछन् । 

उनले कतिलाई कोरोना सारे कुन्नी ? कसैलाई थाहा छैन् । अचम्म त के छ भने कोभिड वार्डमा न ज्वरो नाप्ने थर्माेमिटर छ, न त अक्सिन र प्रेसर जाच्ने मेसिन नै । एक जना फर्मासिस्ट बिरामीले ल्याएको अक्सिमिटरबाट तिनै युवकले  सबैको अक्सिजन जाच्छन् ।  कोभिड वार्डमा आउने आगन्तुक कसैलाई रोकतोक छैन । कुनै बिरामीलाई बाहिर निस्कन पनि कुनै रोकतोक छैन । जुन बेला आउन मन लाग्यो आयो र जति बेला बाहिर जान मन लाग्यो गयो ।

फोकल पर्सन, डाइरेक्टर र भिसीका कथा
शुरु शुरुमा कोभिड अस्पतालका फोकल पर्सन डा. अच्युत कार्कीले फोन उठाउँथे, अहिले एसएमएसको पनि रेस्पोन्स गर्दैनन् । छातिको एक्सरेका लागि डाइरेक्टर डा. केदार सेञ्चुरीदेखि न्याम्सका उपकुलपति(भिसी) प्रा.डा डिएन साहसम्म सम्पर्क गरियो । म संसदीय समिति सभापतिको स्वकीय र पेशाले पत्रकार पनि हुँ ।  कसैको सम्पर्क नम्बर पाउन गाह्रो छैन । त्यसैले उहाँहरुलाई केही न केही भन्न सक्छु । तर सबैले सक्दैनन् । यतिबेला हजारौं संक्रमित अस्पतालको पहुँच बाहिरै भगवान भरोसा बाचिरहेका छन् ।

सरकारले नै बेहोस हुन लागेमा मात्रै अस्पताल आउनु भनिरहेको छ । हजारौं संक्रमितलाई निजी अस्पतालहरुले लुट्नु लुटिरहेका छन् । कम्तिमा सरकारी अस्पताल पुगेकाहरुको त राम्रो हेरचार गरियोस् । तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उप कुलपति, वीर अस्पतालका निर्देशक र कोभिड अस्पतालका फोकल पर्सनको लापरवाहीले वीर अस्पतालका कोभिड बिरामीले सास्ति खेपिरहेका छन् । सरकार, दुई छाक भात खुवाउँदैमा कोरोना निको हुन्न । र, नेकपा अर्काे चुनावमा यहि तालले भोट पनि बढ्दैन् ।  


 

Advertisement

Advertisement

Advertisement