आर्थिक बर्ष सुरु भएको तीन महिना बित्यो, तीन दर्जन स्थानीय तहले बजेट पास गर्न सकेनन्

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष ०७७।७८ को पहिलो त्रैमास सकिँदा पनि २९ स्थानीय तहले बजेट पास गर्न सकेका छैनन् । चारवटा प्रदेशका ती स्थानीय तहले हालसम्म पनि चालू आवको बजेट पास गर्न नसकेका हुन् ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार नगरपालिका तथा गाउँपालिकाले १० असारभित्र नगर–गाउँपालिका सभामा बजेट पेस गर्नुपर्ने हुन्छ ।

यसरी सभामा पेस भएको बजेट असार मसान्तसम्ममा पास भइसक्नुपर्छ । तर, असोज सकिन लाग्दासमेत झन्डै तीन दर्जन पालिकाले बजेट पास नगरेको संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयकी सूचना अधिकारी सुशीला अर्यालले जानकारी दिइन् । ‘मन्त्रालयमा ३९ वटा पालिकाको बजेट विवरण प्राप्त भएको छैन, यसमध्ये अधिकांशको बजेट नै पास नभएको जानकारी छ,’ उनले भनिन्, ‘राजनीतिक, कर्मचारीको सरुवालगायत विभिन्न कारणले बजेट पास नभएको हुन सक्छ ।’

Advertisement

कानुनी व्यवस्थाअनुसार अधिकांश स्थानीय तहले तोकिएकै समयमा बजेट ल्याएका छन् । तर, राजनीतिक विवाद, प्रशासकीय अधिकृतको सरुवालगायत विभिन्न कारणले अहिलेसम्म पनि पालिकाहरूले बजेट पास गर्न सकेका छैनन् । मन्त्रालयमा अहिले पनि विवरण आइरहेको अर्यालले जानकारी दिइन् । कुल ७ सय ५३ स्थानीय तहमध्ये ९४.८२ प्रतिशत स्थानीय तहले भने बजेट विवरण पठाइसकेको मन्त्रालयले उल्लेख गरेको छ । कुल स्थानीय तहमध्ये ५.१८ प्रतिशत अर्थात् ३९ वटाले भने विवरण पेस गरेका छैनन् ।

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement