अब माध्यमिक तह पास गर्ने युवालाई पाँच लाखसम्म सहुलियत कर्जा

Advertisement

काठमाडौं । अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपियाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । असोज ८ मा मन्त्रिपरिषदले गरेको निर्णय अनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिमा तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । 

यससँगै सहुलियत दरमा युवा नै लक्षित तीन वटा कर्जा योजना सञ्चालनमा आएको छ । यसअघि सात लाख रुपियाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपियाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् । 

Advertisement

माध्यमिक तह वा सो सरहको शिक्षा हासिल गरेकाले समेत पाँच लाख रुपियाँसम्मको युवा स्वरोजगार कर्जा प्राप्त गर्नेछन् । सिप विकास उद्यमशिलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायत कुनैबाट कम्तिमा सात दिनको उद्यम सम्बन्धि तालिम लिएको भए पुग्ने भएको छ । बैंकले ग्राहकलाई लगाउने व्याजदरमा राष्ट्र बैंकले पाँच प्रतिशत व्याज अनुदान दिनेछ । 

गत बैशाखसम्ममा ६६ जनाले तीन करोड ५२ लाख रुपियाँ बराबर शिक्षित युवा कर्जा पाएका छन् भने विदेशबाट फर्केका दुई सय २२ जनाले १५ करोड १७ लाख रुपियाँ कर्जा पाएका छन् । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement