बुटवल राजधानीको अडान छोडेवापत बिष्णुलाई अर्थ, बालुवाटार प्रकरणमा ओलीले आँखा चिम्लिए

Advertisement

काठमाडौं । बुटवललाई प्रादेशिक राजधानी बनाउनुपर्ने अडान छाडेवापत प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी नेकपाका महासचिव बिष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् । 

युवराज खतिवडा बाहिरिएपछि आफैले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी बिष्णुलाई दिएका प्रधानमन्त्री ओलीमाथि वामदेव गौतम वा सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने दबाब थियो । तर दुवै आफ्नो खेमाका र आफ्नो अनुकुलका मानिस नभएपछि उनले बिष्णुलाई नै रोजेका हुन् । 

Advertisement

बिष्णुलाई अर्थमन्त्री बनाउने कुरामा ओलीले बालुवाटार प्रकरणलाई समेत बिर्सिएका छन् । बालुवाटारको सरकारी जग्गा अनियमिततामा मुछिएका बिष्णुले उक्त प्रकरणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन सुरु भएपछि जग्गा फिर्ता गर्ने निर्णय गरेका थिए । जग्गा फिर्ता गरेको आधारमा अख्तियारले उनलाई छानविनको दायरामा नराखी अन्यलाई राखेको थियो । 

बालुवाटार प्रकरणका कारण बिष्णु पौडेलमाथि नैतिक प्रश्न उठिरहेको बेला प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको आन्तरिक सत्ता सन्तुलन मिलाउन र आफूलाई लगाउँदै आएको गुन तिर्न पनि बिष्णुलाई अर्थमन्त्री बनाएका हुन् । उनी यसअघि पनि अर्थमन्त्री भइसकेका व्यक्ति हुन् । 

बुटवललाई प्रदेश राजधानी बनाउनुपर्ने अडान राख्दै आएका उनले शंकर पोखरेल र प्रधानमन्त्री केपी ओलीको आग्रहमा उक्त अडान छोडेका थिए । सोही अडान छोडेवापत अर्थमन्त्री बनाउने ओलीले आश्वासन दिएको नेकपाका नेता कार्यकर्ताहरुले बताउँदै आएका थिए । उनलाई अर्थमन्त्री बनाउन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि लचक भएपछि ओलीलाई सहज भएको हो । युवराज खतिवडा, सुरेन्द्र पाण्डे अल्ली जटिल खालको व्यक्ति भएकाले प्रचण्ड उनीहरुलाई अर्थमन्त्री बनाउन वा कायम राख्न सकारात्मक नभएका समाचारहरु आइरहेका थिए । बिष्णु अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयसँग सम्वन्धित आफू अनुकुलका खास निर्णयहरु गराउन सकिने प्रचण्डको विश्वास देखिन्छ । 

यता ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट मुक्त गर्नु पनि अर्थपूर्ण देखिन्छ । प्रधानसेनापतिसँग बढ्दै गएको विवाद र कटुताका कारण प्रधानमन्त्री ओलीले उनलाई रक्षा मन्त्रालयबाट हटाएको अडकल स्रोतको छ । 

Advertisement

Advertisement