तेस्रो मुलुकहरूसँगको व्यापारमा पारवहन खर्च बढ्यो, भारतीय बन्दरगाहमा खर्चैखर्च

Advertisement

वीरगञ्ज । सिपिङ कम्पनीबीच प्रतिस्पर्धाको कमी र कम्पनी छनोटमा आयातकर्ता सचेत नहुँदा तेस्रो मुलुकहरूसँगको व्यापारमा पारवहन खर्च बढेको छ । भारतीय बन्दरगाहमा लाग्ने अधिक समय र अदृश्य खर्चको भार हटाउन छरितो प्रक्रिया र प्रविधि अपनाइए पनि ढुवानीमा संलग्न कम्पनीहरूको मनोमानीले लागत घट्न नसकेको हो ।

कुल वैदेशिक व्यापारमा करीब ४० प्रतिशत अंश तेस्रो मुलुकको छ । समग्र व्यापारको १० प्रतिशत ढुवानी हवाई मार्गबाट हुन्छ । समुद्रपारका मुलुकबाट हुने व्यापारको अधिकांश ढुवानी सिपिङ कम्पनीहरूले गर्छन् । यी कम्पनीले भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाह हुँदै नेपालसम्म कन्टेनर ढुवानी गर्छन् ।

Advertisement

वर्षमा १ लाखभन्दा बढी कन्टेनर समुद्री मार्ग हुँदै भित्रिने गरेको तथ्यांक छ । व्यवसायीले सन् २०१९।२० मा २० फीटका १ लाख ८ हजार कन्टेनर मालसामान ल्याएका छन् ।

नेपालको वैदेशिक व्यापारको ढुवानीमा करीब २ दर्जन सिपिङ कम्पनी संलग्न देखिए पनि अधिकांश ढुवानी केही ठूला कम्पनीको कब्जामा रहेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । ठूला कम्पनीको मनोमानीले आयातको लागत अनपेक्षित रूपमा बढेको व्यवसायीहरूको गुनासो छ ।

नेपालको वैदेशिक व्यापार खर्चमा ढुवानीको लागत २५ प्रतिशतसम्म हुने अनुमान छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement