धर्म वा थर फेर्दैमा जातबाट मुक्ति पाईदैनः भीम उपाध्याय

भक्तपुरतिर पेशा अनुसार वा बस्ने पूर्ख्यौली ठाउँ अनुसार थर लेख्छन्, नेवार समुदायमा पनि त्यही हो । दक्षिण भारतमा बाजे, गाउँ, पिता र पुर्खौली थर अगाडि लेखेपछि अनि नाम लेख्छन् ।

इसाईहरूले पादरीले दिएको पहिलो नाम, पुर्खौली ठाउँ र परिवारको थर लेख्छन्, पहिलो, बीचको र अन्तिम भनेर नाम लेख्छन् । गुरूङ,  राई, लिम्बू , मगरहरू पनि आफ्नो जातको नाम पछाडी पनि थप, उपथर थप्छन् ।

नेपालका हिन्दूहरू राशी बमोजिम न्वारानको नाम, पारिवारिक जात थर र बीचमा भगवानको नाम वा अरू केही लेखेर  पूरा नाम लेख्छन् । मुसलमानहरूको त झन् लामो पूरा नाम थर हुन सक्छ ।

विश्वभरिनै किन त्यसो गर्दै आएको होलान् ? किन कि सबैलाई आफ्नो पहिचान वा ओरिजिन प्यारो हुन्छ । पहिचान मेटिन कसैलाई स्विकार्य छैन दासबाहेक । दासले पनि पहिचान खोजेको हुन्छ । 

नेपालमा आदिबासी थारूका १०० भन्दा बढी थर छन्, राई लिम्बूका पनि त्यस्तै हो । एकले हामी अलग हो है भन्दै गर्व गर्न उपथर लेख्ने चलन चलेको देखिन्छ । नेवार समुदायको पनि  त्यस्तै हो । बाहुन क्षेत्रीको पनि त्यस्तै हुन्छ । मानिस विश्वभरि जात थरले नै चिनिन्छन् । नाम त बोलाउन मात्र हो, त्यसले परिचय दिन्न थरले परिचय जनाईदिन्छ । 

जातको पछि कोही लाग्ने कामै छैन । सबैले आफ्नो जातको गरिमा र सम्मान बढाउने तिर लाग्ने हो । सबै प्रकारका छुवाछुत र सामाजिक विभेद हटाउन लाग्ने हो, लाग्नुपर्छ । कसले कसलाई कुन स्तरको छुवाछुतको विभेद गरेको छ त्यो समाजपिच्छै फरक हुनसक्छ । समाधान पनि समाजपिच्छे फरक हुन्छ र हुनैपर्छ । 
जातको जेनेरलाईजेशन अर्थहिन रणनीति वा दाउ मात्र हो । जातीय राजनीति वा धार्मिक राजनीति गरेर तिनै पिछडिएका वा दलित जातलाई दास बनाईराख्ने सुविचारित प्रपन्च मात्र हो ।
 
जातीय मुक्तिका नाममा सत्तामा पुगेका नेताहरू सबैजसो बाहुन क्षत्री नै हुनु, जातको बिरोध गर्न नाममा पास्चर बनेका सबै जसो बाहुनैबाहुन देखेपछि पनि ऑखा खुल्दैन ? ताप्केबाट उम्केको भुंग्रोमा जाकिन हो र ? सामाजिक छुवाछुत वा विभेदबाट मुक्तिका लागि जसको सहयोग र सहकार्य  अपरिहार्य हुन्छ उसलाई शत्रू मानेर कतै पुगिन्छ र ? के काशी जान कालापानी तिर कुद्ने हो ? 

जात भनेको मानिसको पारिवारिक पुस्तागत पहिचान र उसको पारिवारिक जरा हो । उसको गोत्र हो । गोत्र भनेको जेनेटिक्स र जिन हो । मानिसको नाक र आँखामा नै जात टास्सिएको हुन्छ । परदादा, परमहापिताको नाक र ऑखा आएर खनातिको नाकमा टास्सिएको हुन्छ । मानवशास्त्र वा  एन्थ्रपोलजीको कपुरी क थाहा नभएकाहरूको मनचिन्ते बर्बराहट हो, जातका विरूद्ध बक्नु । 

मानिसले पहिचान खोज्छ, त्यो कसैले त्याग्दैन । कुनै एक जेनरेशनले बेवास्था गरे अर्को जेनेरेशनले झन् खोज्छ । जात माटो हो, मानिसको जन्म माटोबाट भएको छ र उ माटोमा गएर बिलिन हुन्छ । यसबीचमा माटोमा उब्जिएको खान्छ । माटोको शारीरिक रूप नै जात हो । एक वर्गबाट वा चिजबाट अर्को फरक देखिने भनेको जात नै हो । त्यस्तो पनि कुनै समस्या हुनसक्छ ?  समाजमा कुरिति जन्माउने अनि दोष मानिसको पहिचान वा  जातलाई दिन खोज्नेहरू समाज नम्बर १ भडुवॉ हुन् ।

जातको प्रश्नै होईन, छदैछैन। पिछडिएको  ग्रामीण समाजमा विद्यमान  छुवाछुत सामाजिक विभेदको मुद्दालाई हो समाधान गर्ने, त्यसमा नलागेसम्म चाँडै विभेद हट्दैन, तर त्यसको सही पद्दति र प्रणाली डिजायन गरिनुपर्छ । कसैले जातको मान, आफ्नो धर्म वा थर फेर्दैमा जातबाट मुक्ति पाईदैन । नाक उही हुन्छ, ऑखा उही हुन्छ, चिउडो ऑखी भौँ उही हुन्छ, अनुहारको हड्डी उही हुन्छ । त्यसबाटै कसैको पनि जात प्रष्ट चिनिन्छ । धर्म फेर्नु वा जात फेर्नु भनेको लुगा फेरेको हो, पहिचान हैन । म कसैलाई देख्नासाथ उसको जात के हो भन्न सक्छु । यो कसरी संभव भयो ? किनभने जात जिनको निरन्तरता हो, वंशाणू हो । यसबाट मुक्ति छैन, न कोही मुक्त हुन चाहेको हुन्छ । मरेपछि पनि मुक्ति हुदैन ।
 
विभेद र कुरिति विश्वका सबै समाजमा छन् । केही समाजमा छुवाछुट छ, केही समाजमा बाहिरिया मान्छे कसैसंग पनि नछुने परम्परा छ । आदिबासीहरू अलग्गै बस्छन् । कति समाजमा अरू कसैले छोएको  र पकाएको खॉदैनन् । कसैले जबरजस्ति गर्न मिल्दैन । प्रश्न जातको हुँदैहैन, विभेदको हो । विभेद पो हटाउने तिर लाग्नुपर्छ । जात कसरी हट्छ ? टाउको काटेर मान्छे जिवित रहन्छ ? 
 
जात मान्छेको नाक हो । नाकको ईज्जत बढाउने काम आफै गर्ने हो । नाक काटेर नाकको ईज्जत बढ्छ ? जातको परिभाषा के हो बुझ्ने औकात छैन, कोही कोही जात जात भनेर सडकमा बेकारमा कुर्लिएका छन् । कहॉ दुनियामा जात छैन ? कसैले भनिदेओस् । जात नभएको समाज हुदैन, समाज भनेको ४ वर्ण वा पेशा समूह हो । यही हो सनातनी हिन्दू अर्थब्यवस्था र सामाजिक सुव्यवस्थाको सनातनी सूत्र । जात भनेको नाक हो, नाक कसैले काट्दैन। कान खोलेर सुनुन्, ऑखा फट्याएर हेरून् ।

अहिले त हुँदाहुँदा इसाईमा पनि माथिल्लो र तल्लो जात सुरू भएछ। भारतमा दलित इसाई सम्मेलन नै गरेछन् ।  नेपालबाट पनि निम्तालू दलित इसाईहरू गएछन् । अब ब्राह्मण, क्षेत्रीय, वैश्य ईसाईको सम्मेलन पनि हुनेछ। केही समय पछि तमुवान इसाई, लिम्बूवान ईसाई, मगरात इसाइ, ताम्सालिङ इसाइ, नेवा इसाइ,  थारू इसाई, खसान इसाई आदि हुने निश्चित छ । अहिले त झन् नयाँ झारफुक र अन्धविश्वासहरूको लम्काहरू पनि बढ्दै गएको देखिन्छ। एक अन्धविश्वास र कुरितिबाट अर्कोमा पदार्पण हुँदैछ। तावाबाट उम्केर भुंग्रोमा बस्ने रहर । 

(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)