विशाल ग्रुपको साथमा युवराजः इन्फ्राको अध्यक्ष, चकलेटमा कर कटौती, मदिरा आयात खुल्ला

Advertisement

काठमाडौं । नेपालमा सबैभन्दा धेरै विदेशी सामान आयात गर्ने व्यापारी घराना विशाल ग्रुपको स्वार्थमा विदेशी मदिराको आयात खुल्ला गरिएको खुलेको छ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडादेखि प्रधानमन्त्री केपी ओलीसम्म राम्रो सम्वन्ध बनाउन सफल विशाल ग्रुपका अनुज अग्रवालले सत्तासँग बनाएको राम्रो पहुँचको फाइदा उठाउँदै विदेशी मदिरा आयातमा लगाइएको प्रतिवन्ध दशैंतिहारलाई लक्षित गरेर खुलाउन सफल भएका हुन् । 

अर्थमन्त्रालय स्रोतले मुलुक आर्थिकरुपमा समेत विषयम परिस्थितिमा रहेको बेला विदेशी मदिरामा लगाइएको रोक एकाएक खुल्ला गरिएबाट आफूहरुलाई पनि आश्चर्य लागेको बताएका छन् । अर्थमन्त्रीबाट बाहिरिए पनि प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त हुन सफल भएका खतिवडाको प्रस्तावमा मन्त्रिपरिषदबाट विदेशी मदिरा आयात खुल्ला गरिएको हो । दशैंतिहारमा मदिराको बिक्री अन्यसमयमा भन्दा तीन गुणा बढि हुने व्यवसायीहरु बताउँछन् । 

Advertisement

कोरोना भाइरस (कोभिड १९) संक्रमणसँगै अत्यावश्यकबाहेकका विदेशी सामानहरु आयातमा रोक लगाउने क्रममा विदेशी मदिराको आयातमा रोक लगाइएको थियो । तर, दशैंको मुखमा स्टक सकिन लागेपछि सरकारले आयात खुल्ला गरेर गुन लगाएको हो । 

यस विषयमा बुझ्न विशाल ग्रुपका विवेक अग्रवाललाई फोन गर्दा उनले कुरा गर्न मानेनन् । अधिकांश भारतबाट बार्षिक २५ अर्ब रुपियाँभन्दा बढिको सामान आयाग गर्ने विशाल ग्रुपको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा निकै ठूलो पहुँच रहेको छ । विशाल ग्रुपले ल्याउने कुनै पनि सामानहरु भन्सारमा बिना कुनै झन्झट प्रवेश पाउने गर्दछ ।

आफूले आयात गर्ने विधागत सामानहरुमा एकलौटी कायम गर्न सफल भएको विशाल ग्रुपले अरु प्रतिस्पर्धीलाई कुनै पनि हालतमा छिर्न नदिने गरेको व्यवसायीहरुको गुनासो छ । मदिरा आयात अहिलेको विषय परिस्थितिमा खुल्ला गर्नुले पनि यसअघि किन बन्द गरिएको थियो ? भन्ने प्रश्न उब्जिएको छ । नेपालमै अहिले प्रशस्त्र मात्रामा गुणस्तरीय मदिराहरु उत्पादन हुने गरेकोमा अत्यावश्यक सामान जसरी खुल्ला गरिनुले पनि खतिवडाको नियत ठिक नभएको देखिन्छ । 

मुलुकको बार्षिक व्यापार घाटा देशको बार्षिक बजेटभन्दा धेरै हुन लागिसकेको छ । जसमा वैध र अवैधरुपमा आयात हुने विदेशी मदिराको हिस्सा डेढ अर्बको हाराहारीमा रहेको बताइन्छ । आयातमा बलियो प्रभाव मनाउन सकेको विशाल ग्रुपले उत्पादनमूलक उद्योगहरुमा लगानी गर्न खासै चासो देखाउने गरेको छ । आयातबाटै रातारात मनग्य नाफा कमाउने सकिने भएकाले उत्पादनमूलक उद्योगहरुमा लगानी गर्न आनाकानी गर्दै आएको थियो । 

विशाल ग्रुपका अध्यक्ष अनुज अग्रवालले खतिवडासँगको सम्वन्धकै आधारमा नेपाल पूर्वाधार विकास बैंक (इन्फ्रा)को अध्यक्ष पद हासिल गर्न सफल भएका थिए । उक्त बैंकको अध्यक्ष हुन आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले पनि इच्छा गरेका थिए । सरकारको समेत लगानी भएकाले अर्थमन्त्रालयको प्रतिनिधिलाई अध्यक्ष बनाउन उचित हुने सुझाव पनि आएको थियो । तर खतिवडाको जोडबलमा अनुजलाई अध्यक्ष बनाइएको थियो । 

चालु आर्थिक बर्षको बजेट जारी गर्ने क्रममा अनुजको विशाल ग्रुपलाई मात्रै लाभ मिल्ने गरी चकलेट आयातमा कर कटौती गरेर गुन लगाएका खतिवडाले आफूमाथि लागेको आरोपको खण्डनसमेत गर्न सकेनन् । प्रधानमन्त्री केपी ओलीले उनलाई यस विषयमा स्पष्टिकरण सोध्नुपर्नेमा उल्टै पुनः अर्थमन्त्री नियुक्त, त्यसपछि आफ्नो विशेष आर्थिक सल्लाहकार, अहिले अमेरिकाको राजदूतको सिफारिस गरेका छन् । विशाल ग्रुपमा राजनीतिक तथा प्रशासनिक पहुँच मिलाउँदै आफ्ना सबै व्यापारिक कम्पनीहरुमा सहजीकरण गर्ने काम अनुज र अशोक अग्रवाल मिलेर गर्छन् । 

दुई बर्षअघि म्याद गुज्रिएका हर्लिक्सहरु दुर्गम क्षेत्रमा बिक्रीका लागि पठाएर आफूहरुलाई नोक्सानमा पारेको भन्दै बितरणहरुले विशाल ग्रुपविरुद्ध आन्दोलनमा उत्रिएका थिए । पछि त्यस्ता हर्लिक्सहरु फिर्ता लिन तयार भएपछि वितरकहरु पनि पछि हटेका थिए । यी बाहेक अरु थुप्रै प्रकरणमा विशाल ग्रुप पर्ने गरेको छ । 

त्यतिमात्रै नभएर विशाल ग्रुपले म्याद गुज्रिएको आयातित खाद्य बस्तुहरुमा नयाँ स्टिकर टाँसेर बेच्दै गरेको अवस्थामा केही दिनअघि प्रहरीले कर्मचारीहरुलाई पक्राउ गरेपछि उक्त समूह अहिले नैतिक संकटमा रहेको छ । नेपाल उद्योग बाणिज्य महासंघले समेत गैरव्यवसायिक आचरण गर्दै गुणस्तरहिन सामान बेचेको भनेर उसको आलोचनासमेत गरेको छ । यस प्रकरणमा विशाल ग्रुपलाई जोगाउने प्रयास भए पनि महासंघलगायतका संस्थाले नै चासो देखाएबाट छानबिन प्रक्रिया कसरी बढ्छ ? हेर्न बाँकी छ ।

Advertisement

Advertisement