प्रधानमन्त्रीको तर्क- बुढीगण्डकी सुरु नै भएको छैन्, कसरी पैसा लियो भन्न मिल्छ ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सुरु नै नभएको र सुरु हुने टुँगो पनि नभएको आयोजनामा भ्रष्टाचार भयो भनेर गलत प्रचार गरिएको बताएका छन् । 

नेपाल प्रहरीको स्थापना दिवसको कार्यक्रममा शुक्रबार उनले बुढीगण्डकीमा अर्बौं भ्ष्टाचार भयो भन्नु निराधार भएको तर्क गरे । आरोप लगाउने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम नलिइकन ओलीले, ‘एउटा निर्णय नभएको, कसैले नलिएको कार्यारम्भ नभएको, हुन्छ हुँदैन भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु, हामी यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्तिको एउटा कुरा हो तर हामी त्यति गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं ।’

Advertisement

बूढीगण्डकी अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भएको उनले बताए । सरकारले भ्रष्टाचारशुन्य नीति लिएको उनले जिकिर गरे । 

पूर्वप्रधानमन्त्रीद्धय शेरबहादुर देउवा, पुष्पकमल दाहालसमेत बुढीगण्डकीमा पैसा नलिएको भन्दै ओलीले उनीहरुको बचाउ गरे । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा देउवा, ओली र प्रचण्ड मिलेर बुढीगण्डकीमा नौ अर्ब लिएको र त्यसको प्रमाण आफूसँग रहेको बताएका थिए । पछिल्ला दिनमा उनले यस प्रकरणको छानविनका लागि अधिकारसम्पन्न र निष्पक्ष आयोग गठन गर्न माग गर्दै आफ्नो आरोप गलत भए झण्डिन तयार रहेको बताएका थिए । 

प्रधानमन्त्री ओलीले बलात्कारका घट्नाहरु बढेको तर दोषीहरुलाई कारवाही हुन नसकेको आवाज उठिरहेको बेला अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको दावी गरे । उनले भ्रष्टाचार र अपराधविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताए । 

आफूहरु सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अघि बढ्ने  भन्दै उनले अपराध र भ्रष्टाचारविरद्धको शून्य सहनशीलताको नीति अपनाउन नेपाल प्रहरीलाई पनि आग्रह गरे । प्रहरीमाथि नागरिकको विश्वास कमजोर भए नागरिक र प्रहरीबीचको सम्बन्ध नै कमजोर हुने उनका भनाई छ ।

Advertisement

Advertisement