घरजग्गा र गाडी किन्न स्थिर ब्याजदर, कति उपयोगी ?

Advertisement

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले कात्तिक १ गतेदेखि घरजग्गा तथा गाडी कर्जामा स्थिर ब्याजदर कार्यान्वयन गर्दैछन् । नेपाल राष्ट्र बैंकले भदौ २८ गते एकिकृत निर्देशन जारी गर्दै बाणिज्य बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुलाई कात्तिक १ गतेदेखि होम लोन, अटो लोन, हायर पर्चेज लगायतमा स्थिर ब्याजदर कार्यान्वयन गर्न भनेको थियो । राष्ट्र बैंकले असोज मसान्तभित्रै त्यस्तो ब्याजदर प्रकाशित गर्न र कात्तिक १ गतेदेखि लागु गर्न निर्देशन दिएसँगै बैंक तथा वित्तिय संस्थाहरुले दर प्रकाशित गरिसकेका छन् । 

निश्चित आम्दानी भएका वर्गहरुलाई राहत दिन भन्दै राष्ट्र बैंकले अघि सारेको स्थिर ब्याजदरको नीति कति उपयोगी होला र सफलता पाउला वा नपाउला भन्ने बहस सुरु भएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले परिक्षणका रुपमा अघि सारिएको व्यवस्थाले ब्याजदरमा स्थिरता र निश्चित आय भएको वर्गलाई राहत दिने बताए । ब्याजदरमा स्थिरता आओस, निश्चित कमाई हुने वर्गले घर र गाडी किन्दा ब्याजदर उतार चढावको जोखिम भोग्नु नपरोस भनेर स्थिर ब्याजदर अघि सारेका हौं’ प्रवक्ता डा. भट्टले कर्पाेरेट नेपालसँग भने । नेपालमा निक्षेपको श्रोत सिमित भएकाले ब्याजदरमा उतारचढाव आईरहेको बताउँदै त्यस्तो सिमितताको विकल्पका रुपमा डिबेञ्जर लगायतका दीर्घकालिन श्रोतको खोजिमा बैंकहरु प्रेरित हुनुपर्ने पनि बताए । 

स्थिर ब्याजदरको व्यवस्थाले अहिले नै ठूलो मात्रामा ऋणीहरु आकर्षित नभए पनि केहि समयपछि भने यसले राम्रो काम गर्ने पनि उनले बताए । ‘यो परिक्षण अवधी हो, धेरै आकर्षित नहोलान तर दोश्रो चरणमा कार्यान्वयन गर्दा भने ठूलो संख्यामा लक्षित वर्ग लाभाम्बित हुनेछन्’, प्रवक्ता डा. भट्टले अघि थपे । 

उता, बैंकरहरु भने स्थिर ब्याजदरको वर्तमान व्यवस्थाले तत्कालै आकर्षण नपाउने बताउँछन् । अहिलेकै अवस्थामा स्थिर ब्याजदर भन्दा पनि पुरानै ब्याजदरबाट ऋणीले लाभ पाउने उनीहरु बताउँछन् । एकाध वर्षको निक्षेप संकलन गरेर २०।२५ वर्षका लागि स्थिर  ब्याजदरमा ऋण प्रवाह गर्दा बैंकहरुलाई ऋणीको जोखिम उच्च हुने उनीहरुको निष्कर्ष छ । ‘बैंकहरुले बढीमा २ वर्षको निक्षेप संकलन गरिरहेका हुन्छन्, यस्तो प्रकृतिको ऋण दिँदा २०।२५ वर्षको हुन्छ, त्यसमा बैंकहरुलाई ऋणको जोखिम अलि बढी हुन्छ’, एक बाणिज्य बैंकका डेपुटी सिइओले कर्पाेरेट नेपालसँग भने । 

सिमित अवधीको निक्षेप हुने भएकाले तरलताको अनुमान गर्न नसकिने र त्यसले स्थिर ब्याजदरमा जाँदा जोखिम बढाउने पनि उनले बताए । तरलता र ब्याजदरको जोखिमका कारण नै बैंकहरुले स्थिर ब्याजदरमा प्रिमियम थपेर बढी ब्याजदर तोकेको बताउँछन् । बैंक तथा वित्तिय संस्थाको कुल ऋणमा होम लोन, अटो लोन र हायर पर्चेजको हिस्सा औषतमा १० देखि १५ प्रतिशतसम्म हुने गरेको छ । 

राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले अहिलेको अवस्थामा धेरै आशा नगरिए पनि निक्षेपको ब्याजदर औषत ७ र कर्जाको ११ प्रतिशत बनाएको दिन स्थिर ब्याजदरले राम्रो काम गर्ने बताए । ‘राष्ट्र बैंकले ब्याजदरको उतार चढावलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको छ, त्यतिबेला स्थिर ब्याजदरले राम्रो काम गर्नेछ ।’, प्रवक्ता डा् भट्टले भने । 
बैंकहरुले थोरै समयका लागि थोरै र धेरै अवधीको कर्जामा धेरै ब्याजदर तोकिरहेका छन् । 
 

Advertisement

Advertisement

Advertisement