लय समाउँदै भन्सारः दशैं लक्षित व्यापारबाट २३ प्रतिशत राजश्व बढ्यो, निर्यात २२ प्रतिशत

Advertisement

काठमाडौं । लकडाउन र निषेधाज्ञाको लामोपछि विस्तार अर्थतन्त्र लयमा फर्कदै गरेको संकेत देखिन थालेका छन् । मुल राजश्वको ठूलो हिस्सा ओगट्ने भन्सार राजश्वको वृद्धि राम्रो देखिएको छ भने निर्यातमा पनि केहि सुधार देखिएको छ । भन्सार विभागका अनुसार असोज महिनामा भन्सार राजश्व २३.७३ प्रतिशतले वृद्धि भएको छ । दशैं लक्षित आयातका कारण असोजमा ३७ अर्ब ७९ करोड ९४ लाख रुपैयाँ भन्सार महशुल संकलन भएको हो । यस्तो महशुल गत असोजमा जम्मा ३० अर्ब ५५ करोड रुपैयाँ मात्रै थियो । 

दशैं पर्वका लागि आवश्यक सामग्री आयात हुने असोज महिनामा भन्सार गुल्जार भएको छ । असोज महिनामा मात्रै भन्सार राजश्व २३.७३ प्रतिशतले वृद्धि भएको छ । असोजमा आयात ७.५७ प्रतिशतले बढेर एक खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो असोजमा त्यस्तो आयात जम्मा एक खर्ब ५ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ मात्रै थियो । 

निर्यातमा राम्रो संकेत
भन्सार विभागका अनुसार असोज महिनामा निर्यात २२.३७ प्रतिशतले बढेको छ । २०७६ असोजमा ८ अर्ब ६६ करोड ४८ लाख रुपैयाँको निर्यात भएको थियो । तर यसपाली असोजमा त्यो आँकडा बढेर १० अर्ब ६० करोड ३४ लाख पुगेको छ । 

लय समाउँदै अर्थतन्त्र 
भन्सार विभागका महानिर्देशक सुमन दाहालले आयात र निर्यातको तथ्यांकले अर्थतन्त्र लयमा फर्कदैँ गरेको देखाउने बताए । ‘लकडाउन, निषेधाज्ञा र अहिले देखिएको कोरोनाको कहरका बीच पनि अर्थतन्त्रले लय समाउँदै गरेको देखिन्छ, यो राम्रो संकेत हो’, भन्सार विभागका महानिर्देशक दाहालले कर्पाेरेट नेपालसँग भने । 

तीन महिनाको लेखाजोखा
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा भने भन्सार महशुल ८.५२ प्रतिशतले घटेको छ । असोज मसान्तसम्ममा ८५ अर्ब ६० करोड रुपैयाँ भन्सार महशुल उठेको छ । यस्तो महशुल २०७६ असोजसम्ममा ९३ अर्ब ५७ करोड रुपैयाँ थियो । हालसम्म ३ खर्ब ३४ अर्ब ९५ करोड ८ लाख रुपैयाँ बराबरको आायत भएको छ । यो आयात गत वर्षको तीन महिनाको भन्दा १२.७४ प्रतिशत कम हो । निर्यात भने १४.२८ प्रतिशतले बढेर ३१ अर्ब ४ करोड ६१ लख रुपैयाँ पुगेको छ । जुन गत असोजमा २७ अर्ब १६ करोड ६६ लाख रुपैयाँ थियो । 

दौडधुप तिब्र
असोज महिनाको अन्तिम र कात्तिकको पहिलो साता सरकारका उच्च पदस्थ अधिकारीहरुले उत्तरी नाकाहरुको स्थलगत अवलोकन भ्रमण गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, परराष्ट्र सचिव र भन्सार विभागका महानिर्देशकसहितको टोलीले कोरला, तातोपानी र रसुवागढी नाकाको भ्रमण गरेका थिए । 
 

Advertisement

Advertisement

Advertisement