सर्वाधिक ठूलो ८ अर्ब रुपियाँको आईपीओ आउँदै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले डाक्यो साधारण सभा

काठमाडौँ । नेपाल इन्फ्रास्टक्चर बैंकको दोश्रो वार्षिक साधारण सभा मंसिर ३ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौँ १० बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । 

कोरोना १९ को महामारीको जोखिमका कारण साधारण सभा अनलाइन प्रविधि मार्फत समेत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई कन्फ्रेन्सको लिंक र आईडी÷पासवर्ड उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । साधारण सभाले ८ अर्ब रुपियाँको ८ करोड कित्ता सर्वसाधारण शेयर  (आईपीओ) निष्काशनको प्रस्ताव छलफल सहित पारित गरी प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ । 

नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने सञ्चालक समितिको निर्णय बमोजिम बैंकको जारी पूँजी अन्तरगत सर्वसाधारण समूहका लागि छुट्याईको ४० प्रतिशत (सर्वसाधारण समूह भित्र नै वर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको ०.२ प्रतिशत शेयरसहित) ले हुने ८ करोड कित्ता शेयर निष्काशनका लागि आईपर्ने सम्पूर्ण कार्य गर्नका लागि  सञ्चालक समिति वा सञ्चालक समितिले तोकिएका पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ । 

साथै साधारण सभाले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बाल मन्दिर नक्साललाई १ लाख ५० हजार रुपियाँ र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण कोषमा २५ लाख रुपियाँ प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने जनाइएको छ । 

तलको लिंक पनि क्लिक गर्नुहोलाः 

इन्फ्रास्ट्रक्चर बैंकले पूरा गर्यो पहिलो वर्ष, आईपीओ जारी गरी चुक्ता पूँजी २० अर्ब पुर्याउने