उद्योग वाणिज्य महासंघको निर्वाचन तालिका सार्वजनिक (सूचना सहित)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मंसिर १३ गते हुने कार्यकारिणी समितिको निर्वाचन तालिका आज सार्वजनिक भएको छ । महासंघको ५४ औँ वार्षिक साधारण सभा मंसिर ११ र १२ गते हुने तथा मंसिर १३ गते निर्वाचन गर्ने यसअघि नै तय भइसकेको छ । 

निर्वाचन तालिका अनुसार मंसिर ४ गते उम्मेदवारहरुको मनोनयन पत्र दाखिला गर्ने, मंसिर ८ गते साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन गर्ने र मतदान समाप्त भएपछि मतगणना गर्ने र मतगणना समाप्त भएपछि निर्वाचन नतिजाको घोषणासहितको गरिने छ । 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान, मतगणना र निर्वाचनको नतिजाको घोषणा सम्बन्धी कार्य निर्वाचन समितिले तोकिएको स्थान राष्ट्रिय प्रज्ञा प्रतिष्ठान(प्रज्ञा भवन कमलादी), कार्की ब्याङ्केट(बबरमहल) र महासंघ कार्यालय(टेकु, काठमाडौँ) मा छुट्टाछुट्टै रुपमा सञ्चालन हुने आज प्रकाशित सूचनामा उल्लेख छ । 

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन गत चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो । पछि गत जेष्ठ ७ र ८ गते र गत साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधाज्ञाले साधारणसभा हुन सकेको थिएन । 

बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समुहबाट अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र सौरभ ज्योति उपाध्यक्षको उम्मेदवार छन् । ढकाल समुहबाट भने उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी र रामचन्द्र सांघाई उपाध्यक्ष पदमा चुनाव लड्दैछन् ।