साँस्कृतिक मुलुक नेपालमा ‘न भो ज्ञान न भो विवेक त भएन ?’, पूर्वसचिव भीम उपाध्यायको विश्लेषण

हिन्दू सांस्कृतिक मुलुक नेपालमा मान्यजनबाट दशैंमा निधारमा शुभाशिषसहित टीका थाप्नु पवित्र काम मानिन्छ । नेपाली सबैको धर्म समुदाय जातजातिको चाडपर्वमा समावेश भएर रमाईलो गर्ने समाज हो । यही बेला शक्तिका श्रोत दुर्गा भवानीको ९ दिनसम्म नवरात्र पूजा आराधना गरेर शक्ति आर्जन गर्ने चलन पनि छ । 

पश्चिमाले भन्ने गड र हामीले भन्ने देउता फरक हुन् । सनातन परम्परामा गड हुँदैन तर करोडौं देउता हुन्छन् । देउता ती हुन् जसले हाम्रो जीवन चलाउन टेवा दिईरहेको हुन्छ । त्यसैले हामी प्रकृति वा मानव निर्मित ती सबै बस्तु प्रति देउता मानेर नमन वा प्रणाम गर्छौं जो हाम्रो जीवन निर्वाह वा संचालनमा अपरिहार्य वा सहायक भैरहेका हुन्छन् । 

यो हाम्रो समाजको मित्रशक्तिप्रति कृतज्ञताको संस्कार÷संस्कृति हो । पर्यावरणको संरक्षण र महत्व हाम्रो रगरगमा अनादि कालदेखि रहदै आएको छ । प्रकृति र हामी बीचको लेनदेनबाट नै सृष्टि चलिरहेको हो, भलै यसलाई हाम्रो बुद्धिले सहजै बुझ्न कठिन जस्तो लागे पनि हाम्रा कोषहरूले भने सदा बुझिरहेकै हुन्छन् ।

अहिलेका नेपालका राष्ट्रपति र प्रधानमन्त्री जो धर्मलाई अफिम भन्ने स्कूलिङ पाएका कम्युनिष्ट नेताहरू हुन्, भए पनि संस्कृति र पर्वमा तिनीहरू पनि सहभागी हुने गरेका छन् । यो  असल सांस्कृतिक सद्भाव पनि हो। कम्युनिष्ट आर्थिक एजेन्डा मात्रै रहदै आएको मुलुकमा ती पनि अरू नेपाली सरहकै सांस्कृतिक समुदाय हुन् भनेर बुझ्नुपर्छ ।

धर्म र आस्थाको विरोध गरे पनि संस्कृतिको विरोध गरेर कुनै देशमा जहॉ जनताले सरकार बनाउने लोकतान्त्रित पद्दति हुन्छन्, त्यहॉ त्यस्ता नेता वा दलको राजनीति टिक्दैन र जनसमर्थन पनि पाईदैन । यो कुरा नेपालमा राजनीति गर्नेहरूले पनि नबुझ्ने कुरै हुँदैन । 

कम्युनिष्ट कहलिएका राष्ट्रपति र प्रमले पनि ईच्छुक जनसाधारणलाई टीका लगाईदिने परम्पराको पुनः थालनी गर्नु स्वागतयोग्य छ । बस् नेताहरूले पाखण्डपन नदेखाउन्,  संस्कृति संस्कृत र परम्परालाई उच्च सम्मान गरिरहून् । नेताहरूले समाजलाई माया गर्ने भनेको हाम्रा संस्कृति र धरोहरको सम्बर्धन एवं जगेर्ना गर्नु हो । हाम्रो संस्कृतिको धरोहर एवं सम्पदामा विश्वमै  निकै नै धनि छ, यसमा कसैले कहिल्यै खेलवाड नगरून् । 

लोकतन्त्र र बामपन्थ संस्कार र संस्कृति पनि हुन्, यो राजनीतिक संरचना मात्र हैनन् । संस्कार र संस्कृति सामन्ति कायम रहेसम्म डेमोक्रेसी र कम्युनिज्म वर्णशंकर चरित्रको प्रदूषित राजनीतिक अपभ्रंश व्यवस्था मात्र हुन पुग्छ। नेपाल छद्म डेमोक्रेसी र छद्म कम्युनिज्मको रूप मात्र हुनुको मूल कारण संस्कार र संस्कृति प्रदूषित हुदै गएकाले हो । न समाजबाद,  न पूँजीबादका कुनै असल गुण पाईन्छन्, कतै केही चरित्रको बिउ देखिन्छन् भने तिनका विकृति र खराब चरित्र मात्र देखिन्छन् ।

नेपाली समाज मूलतः सांस्कृतिक समाज हो । यहॉ यो धार्मिक र आध्यामिक समाजबाट टाढिदै गएको पाईन्छ, भलै आध्यात्मिक ज्ञानका निम्ति विश्वका निम्ति नेपाल पुण्यभूमि रहदै आएको छ र रहने छ । तर, नेपाल नजिकको पशुपति हेलॉ वा बत्तिमुनि अध्यारो समाज बन्दै गएको छ ।

धार्मिक र आध्यात्मिक समाज अलि तिब्र परिवर्तन हुन सक्छ । जब तत्वबोधको चेतना बढ्छ, तब सांस्कृतिक समाजलाई कुनै विवेक वा तर्कले हत्तपत्त छुन सक्दैन । संस्कतिको महत्व भनेको सामाजिक जिवन रमाईलो लीला मानेर, ठानेर जिउने हजारौं वर्ष देखि निरन्तर रहेको पद्दति हो । त्यसैले जति भौतिक दुःख कष्ठ भोग्न परे पनि नेपाली समाज विश्वमा नै एक खुसी समाज मानिदै आएको हो ।

संस्कार संस्कृति र नाम मात्रको बामपन्थबीचको दशकौँको निरन्तरको द्वन्दले कतै नेपाल सांस्कृतिक धार्मिक परम्परा र अध्यात्मका दृष्टि एवं नजरबाट हेर्दा परिचयबिहिन तथा पहिचानबिहिन बन्दै गएको त छैन ?  भएका सबै गुम्ने कुनै नयॉ संस्कार र पद्दति नजन्मने भइरहेको त छैन ? न भुइँ न भाडामा हुदै गएको त छैन ? चैन जति सबै बेचैन त हुदै छैन ? जुवा जितेपछि मज्जाको चैन गरौँला भन्दै भएभरका सबै धन स्वाहा पारेर कंगाल भिखारी हुन थाल्दै गएजस्तो त हुदैछैन ? न भो ज्ञान न भो विवेक त भएन ? विचारणीय छ। छैन र ?

(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)