दसैँमा आँसु खसाल्दै हजारौं नेपालीहरु मुगलान पस्दै

Advertisement

नेपालगञ्ज, कञ्चनपुर, धनगढी, झापा । यतिवेला हिन्दू धर्मावलम्बीहरूको घरमा दसैँ पसिसकेको छ । अघिल्ला वर्षहरूमा यतिखेर नाकामा दसैँ मान्न घर फर्किने नेपालीको लस्कर हुने गथ्र्यो, कामको खोजीमा भारत जाने दुर्लभ नै देखिन्थे । तर, यस वर्ष स्थिति फरक छ । सीमामा घर फर्किने र मजदुरीका लागि भारत जाने नेपालीको संख्या उस्तै छ । बेरोजगारीका कारण गाउँमा दुई छाक टार्नै मुस्किल हुन थालेपछि कोरोना महामारीको जोखिम मोल्दै लस्करका लस्कर भारत गइरहेका छन् । 

रुकुमका ५३ वर्षीय गणेशकुमार पाण्डे बिहीबार भारी मन बनाउँदै रोजगारीका लागि भारतको सिमलातर्फ हिँडे । बाँकेको जमुनाह नाकामा भेटिएका उनी दसैँको टीका छाडेर बिदेसिनुपर्दा निराश देखिन्थे, अनुहार मलीन थियो । 

Advertisement

गाउँमा खान–लाउनै समस्या भएपछि मजदुरीका लागि भारत जान बाध्य भएको पाण्डेले बताए । ‘घरमा आइसकेको दसैँ छाडेर बिदेसिन कसको पो मन हुन्छ र ?’ उनले भने, ‘घरबाट हिँड्ने वेला जहान, केटाकेटी सबैले आँसु खसाले । म पनि मन थाम्न नसकेर खुबसँग रोएँ, तर के गर्नु, हामी गरिबसँग अरू विकल्प पनि त छैन ।’

पाण्डेसँगै जाजरकोटका प्रेमबहादुर कामी पनि भारत जानेहरूको लाइनमा थिए । अरू दसैँ मान्न घर आउने वेला आफू भारत हिँड्नुुपर्दा मन पोलेको उनले बताए । ‘दसैँमा घर बस्दा पनि खान–लाउन नपाइने भएपछि भारत जान नै उचित लाग्यो । दसैँमा अरूले खाएको देखेर मन रुवाउनुभन्दा टाढा बस्न नै राम्रो हुने र दुई–चार पैसा पनि कमाइने भएकाले जान लागेको हुँ,’ उनले भने । 

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement