‘क्लिन फिड’ अभियन्ता, जसको १२ बर्षको प्रयासले पायो सार्थकता

काठमाडौं । जतिबेला उनले नेपालका टेलिभिजनहरु विदेशी विज्ञापनरहित गर्न क्लिन फिड नीति लागू गर्नुपर्छ भनेर आवाज उठाउँदै थिए, त्यतिबेला धेरै मानिसलाई क्लिन फिडको अर्थ र महत्व पनि थाहा थिएन् । 

हाम्रा प्रशासकदेखि नीति निर्माताहरुसम्मलाई बुझाउनै कठिन थियो । सुचना तथा सञ्चार मन्त्री, सचिवहरु एकछिन कुरा सुन्थे, पछि बिर्सिन्थे । सार्वजनिक कार्यक्रमदेखि मिडियासम्म पुगेर क्लिन फिडबारे बुझाउँदै गए । यसलाई लागू गर्न जनमत बढाउँदै गए । सुरुका दिनमा क्लिन फिड सुन्नै नरुचाउने सरकार पनि सकारात्मक बन्दै गयो । अन्ततः नेपालमा क्लिन फिड नीति कार्यान्वयनमा आएको छ । यसलाई सकार बनाउने मुख्य व्यक्ति हुन नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष निर्मलराज पौडेल । 

अहिले आएर क्लिन फिडको लागि आवाज उठाउने म पनि हो भन्दै दावी गर्नेहरु नदेखिएका होइनन् । तर, इतिहास हेर्दा पौडेललाई मात्रै यसको सर्जक देखिन्छन् । जब उनले नै क्लिन फिडको आवश्यकता, महत्वबारे बुझाउन थाले, त्यसपछि अरु विज्ञापनकर्मीहरु पनि उनको अभियानमा पछि लाग्न थाले । क्लिन फिड अभियन्ताको रुपमा मात्रै नभएर लामो समयदेखि विज्ञापन व्यवसायमा क्रियाशील भएकाले पौडेललाई 'एड गुरु'को रुपमा सबै चिन्छन् । 
 
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएको एक बर्षपछि शनिबारबाट क्लिन फिड कार्यान्वयनमा आएको छ । यो नीति कार्यान्वयन भएपछि अब बहुर्राष्ट्रिय कम्पनीहरुले अब विदेशी टेलिभिजनमार्फत नेपालमा सःशुल्क आफ्नो विज्ञापन प्रसारण गर्न पाउने छैनन् ।

अहिलेसम्म नेपाली उपोभोक्तालाई लक्षित गरी विशेष गरी भारतीय टेलिभिजन च्यानलहरुले विज्ञापन प्रसारण गर्दै आएका थिए । त्यस्ता टेलिभिजनहरुलाई विज्ञापनरहित गर्न ऐनले नै विदेशी टेलिभिजन प्रसारकहरुलाई एक बर्षको समय दिएको थियो । उक्त समय सकिएसँगै आजबाट विदेशी टेलिभिजनहरु विज्ञापनरहित हुन पुगेका छन् । 

नेपालमा वार्षिक अर्बौं रुपियाँ बराबरको दैनिक उपभोग्य तथा अन्य सामग्री बिक्री–वितरण गर्ने यस्ता कम्पनीहरुले विज्ञापन प्रयोजनको लागि भनेर ठूलै मात्रामा विज्ञापन बजेट बिनियोजन गरेका हुन्छन् । यतिमात्र होइन यिनीहरुले पहिलानै आफ्नो वस्तु वा सेवाको लागत निर्धारण गर्दा विज्ञापन खर्च पनि समावेश गरेका हुन्छन् ।

तर विदेशी (विषेशत भारतीय) च्यानलमार्फत नै नेपाली बजारमा आफ्नो व्यापारिक स्वार्थपूर्ति भइरहेकोले बहुर्राष्ट्रिय कम्पनीहरु नेपालमा विज्ञापनको लागि कति पनि खर्च गर्न आवश्यक ठानिरहेका छैनन् । अरु मुलुकमा कुल खर्चको निश्चित प्रतिशत विज्ञापनमा खर्च गर्नुपर्ने कानुनअनुसार काम गर्दै आएका विदेशी कम्पनीहरु नेपालमा नगन्य खर्च गर्ने र विदेशी च्यानलहरुमा गरेको विज्ञापनको फाइदा नेपालबाट उठाउँदै आएका थिए । 

हुन त टेलिभिजन प्रसारक संस्थाहरुले कोरोना संक्रमण र लकडाउनका कारण आफूहरुलाई लिइएको एक बर्षको समयमा तयारी पूरा गर्न नसकेको भन्दै थप केही समय दिन माग गरेका छन् । भारतीय टेलिभिजन प्रसारकहरुको संस्थाले पनि केही समय थप्न आग्रह गरेको थियो । तर सरकारले समय थप्न नसकिने स्पष्ट पारिसकेको छ । 

क्लिन फिड कार्यान्वयन नहुँदा देशको केवल विज्ञापन र सञ्चार माध्यमहरुको व्यवसायमा मात्र होइन अर्थतन्त्रलाई पनि नकारात्मक प्रभाव परिररेको थियो । त्यतिमात्रै नभएर एकातिर नेपालको कलासंस्कृतिमाथि हुँदै आएको थियो भने अर्कोतर्फ नेपाली कलाकार र प्राविधिकहरु अवसरबाट बन्चित हुँदै आएको थिए । अबका दिनमा त्यो स्थितिमा सुधार आउने विश्वासमा निर्मलराज पौडेल छन् । यस्तो छ उनको भनाईः 

आजभन्दा १२–१३ वर्षअघि मेरो नेतृत्वकालमा नेपाल विज्ञापन संघले क्लिन फिड नीतिको मुद्दा अघि सारेको थियो । यो उठाउनुको मुख्यकारण त्यस समयमा मुलुकमा ब्याप्त राजनीतिक अस्थिरता र आर्थिक विषमताको कारण खुम्चिएको विज्ञापन उद्योगलाई विस्तार गर्नु थियो। त्यसपछि २०७३ साल कार्तिक ७ गते तत्कालीन मन्त्री परिषद्ले यो नीति अनुमोदन गरी २०७४ कार्तिकदेखि लागू गर्ने घोषणा गर्‍यो।

हामीहरुले उठाउँदै आएको आवाज निकै ठूलो प्रयासपछि आजको स्थितिमा आएको हो । यसमा ढिलो हुनुको मुख्य कारणहरुमा पहिलो, सरकारले क्लिन फिडको लागि कानुनी व्यवस्था गर्न पर्याप्त गृहकार्य गरेन । सटिकमा भन्नुपर्दा यसको कार्यान्वयनका लागि चाहिने ऐनको नै तर्जुमा भएन । दोस्रो, केवल सेवाप्रदायक कम्पनीहरुले यस नीतिको एकपक्षीय किसिमले विभिन्न प्राविधिक कठिनाई देखाई विरोध मात्र गरे। तेस्रो, काठमाडौंस्थित भारतीय दूताबासले पनि यसलाई लागू हुन नदिन नेपालमाथि दवाव दियो । क्लिन फिडले विज्ञापन उद्योग र यससँंग सम्बन्धित सञ्चार, कलाकारिताजस्ता  अन्य थुप्रै क्षेत्रहरुको कारोबारमा ठूलो वृद्धि ल्याई अन्ततः राष्ट्रको समग्र आर्थिक उन्नतिमा सहयोग गर्ने निश्चित थियो र छ। त्यसैले,नेपाली अर्थतन्त्रलाई सधैं कमजोर बनाई आफ्नो अधीनमा राख्नचाहने छिमेकी मुलुक भारतलाई यो स्वीकार्य नभएको हो । तर यी बाधा र व्यवधान  बीच पनि नेपाल विज्ञापन संघले दृढ संकल्पका साथ यस क्लिन फिडको मुद्दालाई अगाडी बढाइ नै रह्यो । यसैले नै आज यो नीतिले साकार रुप लिने बाटो खुलेको हो ।

यसअघि पैसा तिरेर विदेशी च्यानल हेदै आएका नेपाली दर्शकहरुलाई समेत विज्ञापन देखाएर त्यस्ता च्यानलहरुले पैसा कमाउँदै आएका छन् । यो दुर्भाग्यपुर्ण अवस्था हो । यो भनेको निसन्देह ल्किन फिड नीतिको अभावको परिमाण हो । तर अब यो नीति तर्जुमा भई कार्यान्वयनमा आएकाले यो अवस्था अन्त्य भएको छ । 

आर्थिक पक्षबाट हेर्दा नेपाली विज्ञापन बजारमा करिब ४० प्रतिशत हिस्सा बहुर्राष्ट्रिय कम्पनीहरुले ओगटेका छन् । क्लिन फिड लागू भएपछि यिनीहरुले नेपालमै आफ्नो विज्ञापन निर्माण गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ । यसले गर्दा हाल १२ अर्ब रुपियाँको हाराहारीमा रहेको विज्ञापन उद्योगको कारोबार आगामी दुई वर्षभित्रै दोब्बर हुनेछ। यस्तो वृद्धिले सञ्चारगृहहरुको वार्षिक व्यापारमा पनि ५० देखि ८० प्रतिशतले स्वतः बढोत्तरी ल्याउने देखिन्छ ।

विज्ञापन र सञ्चार माध्यमको बजार उच्च दरले बढ्नु भनेको ठूलो संख्यामा नँया रोजगारीको अवसरहरु सिर्जना हुने बाटो खुलेको छ । क्लिन फिड नीतिले सार्थकरुप लिएपछि देशको आर्थिक र सामाजिक विकासमै टेवा पुग्छ । अहिले कोरोनाको महामारीले राष्ट्रिय अर्थतन्त्र नराम्ररी सिथिलभएको अवस्था छ । यस अवस्थाबाट केही हदसम्म मुक्ति पाउन पनि यो नीति सहायक सिद्ध हुने देखिन्छ ।

नेपाली दर्शकका लागि छुट्टै विज्ञापन बनाउनुपर्ने भएकाले हाम्रो कला र संस्कृतिमा पनि सकारात्मक प्रभाव पर्छ ।  क्लिन फिड देशको मौलिक कला र संस्कृतिको सम्वर्धनसंँग पनि  जोडिएको विषय हो । यो लागू भएपछि विदेशी वस्तुको नेपाली भाषामा जबर्जस्ती ‘डबिङ’ गरी विज्ञापन प्रसारण गर्ने प्रथाको स्वतःअन्त्य हुन्छ। लामो समयदेखि हाम्रो सांस्कृतिक मूल्य र मान्यतामाथि नकारात्मक प्रभाव परिरहेको छ, त्यसमा सुधार हुनेछ ।

अझै पनि यो नीति कार्यान्वयनमा चुनौति छन् । वर्तमानको प्रमुख चुनौती भनेको यसलाई कसरी सफल र सार्थक तवरबाट कार्यान्वयन गर्ने ? भन्ने नै हो । यसको लागि सरकारले संघसंग सहकार्य गरी तुरुन्त विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ द्वारा प्रस्तावित विज्ञापन बोर्ड गठन गर्नुपर्छ। बोर्डले क्लिन फिडको कार्यान्वयन प्रक्रियाको अनुगमन गरी यस्तो प्रक्रियामा देखा पर्नसक्ने समस्याहरुको समाधान गर्न सहयोग पुग्नेछ। विश्वका अधिकांश मुलुकहरुले लामो समयदेखि क्लिन फिड नीतिको अभ्यास गरी यसबाट फाइदा उठाइरहेका छन् । यसैले पनि नेपालले अब यो नीतिको समयमै प्रभावकारी कार्यान्वयन गरी आफ्नो राष्ट्रिय हितको संरक्षण गर्न कुनै ढिलाई गर्नुहुन्न।