बिष्णु पौडेल भन्छन्- सरकारी खर्चमा मितव्ययीता ल्याउन रणनीतिकरुपमा काम गर्दैछु

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजश्व संकलनमा चुनौति थपिएको स्वीकार गरेका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले लकडाउनका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखा परेको भन्दै जसका कारण राजश्व संकलनमा असर परेको बताएका हुन् । 

लकडाउनले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजश्व संकलनमा चुनौती थपिएको भन्दै पौडेल चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजश्व संकलनको स्थिति अनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको दावी गरे । 

Advertisement

मन्त्री पौडेलले भनेका छन्, ‘अहिलेसम्मको स्थिति हेर्दा के देख्छौं भने राजश्व परिचालनको पाटो हाम्रा निम्ती अलिकति चुनौतीपूर्ण बनेर देखा परेको छ । बिचमा बन्दाबन्दीको अवस्था पनि रहयो । आर्थिक क्रियाकलापमा काफिमात्रामा संकुचनको अवस्था देखा पर्‍यो । त्यसको प्रभाव उत्पादनमा, बजारमा र रेभिन्युमा पनि परेको कुरा सत्य हो । अहिले पहिलो त्रैमासिकको अवस्थालाई विश्लेषण गर्दाखेरी हामी राजश्वको जुन लक्ष्य हो त्यसको नजिक नजिक नै पुगेका छौं । केही तल छौं तर हामी नजिक पुगेका छौं ।’

बाँकी समयामा उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रवर्द्धनमा जोड दिने र आर्थिक क्षेत्रको जुन संकुचन छ त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा आफूहरु रहेको उनले बताए । पौडेलले त्यस हिसाबले हेर्दा हामी आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजश्वको लक्ष्य नजिक पुग्न सकिने आशा व्यक्त गरे । 

साथै उनले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने औंल्याएका छन् । मन्त्री पौडेलले कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने बताएका छन् । 

वर्तमान अवस्थमा कोभिडले सिर्जना गरेको चुनौतीलाई समाना गर्दै कुनैपनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफू रहेको अर्थमन्त्री पौडेलले बताए । उनले भने,, ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतीलाई सामना गर्ने अलग्गै योजना रहन्छ । त्यसबाहेक हाम्रा कतिपय प्रबन्धहरु कानूनी नियमगत प्रबन्धहरु छन वा अरु चिजहरु जसले पूँजीगत खर्चमा बाधा सिर्जना गरिरहेको छ भनेदेखि ती चिजहरुमा पनि हामी समग्रतामा समिक्षा गर्छौं र आवश्यक निर्णय लिदै अगाडि बढ्छौं र पूँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौं ।’

मन्त्री पौडेलले सरकार र राज्यका विभिन्न निकायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रित भएको बताएका छन् । सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतको विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको उनले बताएका छन् । 

Advertisement

Advertisement