दशैंमासमेत उडेन ३९ वटा वायुसेवा, किन थन्कियो २२ हेलिकप्टर र १७ जहाज ?

Advertisement

काठमाडौं । वायुसेवा कम्पनीको लागि दशैंको समय आम्दानी र पर्यटकीय सिजन दुबै हिसावले लाभदायी हुने समय हो । नेपालमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको पदयात्रा र पवतीय पर्यटनको सिजन हुने हुँदा विदेशी पर्यटकको लागि नेपाल आउने उपयुक्त समय पनि हो । दशैंको समय अन्य बेला भन्दा व्यस्त र भ्याइनभ्याइ हुने समय भएपनि यो वर्ष भने कोरोना कहरका कारण दशैंमा पनि आन्तरिक वायुसेवाका ९० वटा वायुयान मध्ये ३९ वटा ग्राउन्डेड छन् ।

गत वर्षको दशैंमा सबै वायुसेवा मर्मत गरेर उडान गर्ने, भएकै वायुसेवाले उडान तालिका थप गर्ने र अधिकतम उडान खपत गर्ने समय भएपनि यो वर्षको दशैंमा भने यात्रु अभाव छ । आन्तरिक उडानका यात्रुको हिडँडुल कम भएको र विदेशी पर्यटक आगमन ठप्प भएकोले कारण १० वटा आन्तरिक वायुसेवाका ५६ वटा जहाजमध्ये १७ वटा जहाज थन्किएका छन् । १० वटै हेलिकप्टरका ३४ वटा हेलिकप्टरमध्ये २२ वटा काम नपाएरै थन्किएको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।

Advertisement

वायुसेवा संचालक संघका अनुसार हाल १२ वटा हेलिकप्टर मात्रै उडानमा छन् । उडानमा रहेका हेलिकप्टरका अल्टिच्युड, हेलि एभरेष्ट, कैलाश, माउन्टेन हेलिकप्टर र मनाङ एयरका १÷१ हेलिकप्टर मात्रै उडिरहेका छन् भने एयर डाइनेष्टि, सिम्रिक एयर, प्रभु हेलिकप्टर्सको दुई दुई वटा हेलिकप्टर उडानमा छन् । यी सबै हेलिकप्टर सबैस दुई देखि ५ वटासम्म हेलिकप्टर छन् । 

नियमित उडानका वायुसेवा कम्पनीका पनि १७ वटा जहाज दशैंमा पनि उड्न सकेका छैनन् । नेपाल एयरलाइन्सको ६, यती एयरलाइन्सको ४, श्री एयरलाइन्स ३, बुद्ध र सौर्य एयरलाइस्सको २÷२ वटा जहाज दशैंमा पनि उडान हुन सकेका छैनन् ।

वायुसेवा कम्पनीले दिएको जानकारी अनुसार पर्यटक नभएपछि आन्तरिक वायुसेवाको यात्रु घटेको छ । कोरोना महामारीको त्रास बढ्दै गएका कारण आन्तरिक गतिविधि कम भएकोले उडान हुन नसक्दा थप जहाजको मर्मत नगरेको सम्बन्धित वायुसेवाको भनाइ छ ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार यात्रु नै नभएका कारण जहाजको उडान घटेको छ भने हेलिकप्टरले कहिलेकाहीँ पाउने उद्धार उडान मात्रै हो । हेलिकप्टर विदेशी पर्यटक आउँदा मात्रै प्रयोग बढ्ने गर्छ । नेपालीले हेलिकप्टर चढ्ने पहुँच कम भएकोले आकस्मिक उद्धार बाहेकमा नेपाली हेलिकप्टर नचढ्ने बुझाइ शर्माको छ ।

उनका अनुसार ७ महिनादेखि ठप्प पर्यटन क्षेत्र चलायमान नहुँदा आम्दानी सुकेकै कारण हेलि एभरेष्टले यो दशैंको लागि मात्रै ५८ लाख ऋण लिएर कर्मचारीले तबल दिएर यो वर्षको दशैं खर्च दिनु परेको छ । अहिलेको यो अवस्थाले हेलिकप्टर कम्पनीले प्रतिघण्टा ४ सिटरका जहाजले एक हजार डलर र ६ सिटरका जहाजले १५ सय डलर प्रति घण्टाको भाडा लिने गरेका छन् । कोरोना कहरका कारण माग नै नआएको कारण वायुसेवा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ । जसका कारण हेलिकप्टरो चार्टरको शुल्क प्रतिघण्टा ८ सय डलरसम्म झरेको पनि वायुसेवा सञ्चालक संघको भनाइ छ ।

दशैलाई क्षमताभन्दा कम यात्रु, काठमाडौं भित्रने जहाज रित्तै
कोरोना महामारीका कारण यात्रुको गतिविधि कम भएको र सिजनमा पनि पर्यटक अवागमन ठप्प हुँदा आन्तरिक वायुसेवाले यो वर्षको दशैंका लागि काठमाडौंबाट बाहिर जाँदा क्षमताभन्दा कम यात्रु लिएर उड्न बाध्य छन् । काठमाडौंबाट बाहिरिने जहाजले अन्य सममा दशैंका लागि सत प्रतिशत अकुपेन्सीमा यात्रु उडान गर्ने गरेकामा यो वर्ष भने मुस्किलले ८९ देखि९० प्रतिशतसम्म पुगेको छ । 

काठमाडौं भित्र प्रवेश गर्ने वायुसेवा भने अधिकांश रित्तै फर्कने गरेका छन् । जहाज रित्तै आउनुभन्दा कम शुल्क लिएर यात्रु ल्याउन उडान सञ्चालक खर्चको घाटा कम गर्न सहयोग गर्ने भएकोले ७५ प्रतिशतसम्म भाडा छुट दिइएको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।  

यो वर्ष यात्रु चाप कम भएकै कारण सबै वायुसेवाले सस्तो र यात्रुले चाहेकै दिनको टिकट उपलब्ध गराइरहेको बताएका छन् । गत वर्षको तुलनामा यो वर्ष हरेक उडानमा २० प्रतिशत सिट खालि नै उड्नुपरेको आन्तरिक वायुसेवा कम्पनीहरुले बताएका छन् । 

यात्रु नभएका कारण काठमाडौंबाट हुने नियमित उडानका गन्तव्यमा तुम्लिङटार, भरतपुर र सुर्खेतबाहेक सबै गन्तव्यको टिकट सामान्य अवस्थाको तुलनामा आधा सस्तोमा दिइरहेका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला यात्रु नै नभएका कारण बाध्य भएर सस्तो टिकट दिनुपरेको छ भने आधाभन्दा कम क्षमतामा पनि उडान गर्नुपरेको छ ।

Advertisement

Advertisement