निजी क्षेत्रबाट उत्पादित ८.५ मेगावाटको सौर्य उर्जा राष्ट्रिय प्रसारणमा

Advertisement

भैरहवा । मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युत्को अधिकांश माग धानेको छ । मुलुकमा विद्युत् उत्पादन सुरु भएको लामो समयपछि तराइबाट उत्पादित बिजुली पहिलोपटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

निजी क्षेत्रबाट सञ्चालित ८.५ मेगावाटको मुलुककै पहिलो ग्रिड कनेक्टेड सोलार पावर आयोजना पूरा भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यो आयोजना निजी क्षेत्रको पहिलो ठूलो आयोजना रहेको बताइएको छ ।

Advertisement

७० करोड रुपियाँको लगानीमा रिडी हाइड्रोपावर कम्पनीले रूपन्देहीमा निर्माण गरेको यो आयोजना भैरहवा नजिकै अमुवा सबस्टेसनमा जोडिएको छ । जलविद्युत्मा लगानी गरेको कम्पनीले पहिलोपटक सौर्य ऊर्जामा लगानी गरेको हो । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा बैङ्क अफ काठमाडौँको अगुवाइमा सिटिजन्स र नेपाल बङ्गलादेश बैङ्कले ४९ करोड लगानी गरेका छन् । 
गत मङ्सिरमा सुरु गरिएको आयोजना वैशााखमा सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो तर बन्दाबन्दीका कारण आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा भएको समस्याले पाँच महिना ढिलो गरी सम्पन्न भएको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए । 

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement