यस बर्ष पनि आएन दशैंमा मेलम्ची, बरु फेरि म्याद बढाइयो

Advertisement

विगत केही बर्षदेखि दशैंमा मेलम्चीको पानी आउँछ भन्दै ढाँट्दै आएका सरकार, राजनीतिक दलका नेता, खानेपानी तथा सरसफाई मन्त्रालय, सम्वन्धित आयोजनाका अधिकारीहरुले यस बर्ष पनि काठमाडौंवासीलाई पानी खुवाउन सकेनन्  

बरु आयोजनाको म्याद लम्ब्याएर २०७८ वैशाख पुर्याइएको छ । तीन दशकदेखि काठमाडौंवासीलाई आशा देखाइँदै आएको मेलम्चीको म्याद दर्जनौं पटक थपिँदा जनता निराश बन्दै गएका छन् । 

Advertisement

आयोजनाको पूरानो ठेकेदारलाई भगाएपछि आएको नयाँ ठेकेदार र आयोजनाले निर्माण सम्वन्न हुने अनुमानित अवधि आउँदो वैशाख २ (सन् २०२१ अप्रिल १५) कायम गरिएको छ । संशोधित अवधिसहितको कार्यतालिका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बुझाइएको छ । 

गत बर्ष नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा दिने क्रममा बढीमा आठ महिनाभित्र काठमाडौंमा पानी वितरण गरिसक्ने दावी गरिएको थियो । पछि फागुनमा खानेपानीमन्त्री विना मगरले श्वेतपत्र जारी गर्दै असारभित्रै पानी आउने दावी गरेकी थिइन् । दुवै दावीअनुसार काम गर्न सरकार असफल भइसकेको छ । संशोधित कार्यतालिकाअनुसार पनि आउँदो वैशाखमा पानी आउने कुरामा राजधानीवासीमा आशा र विश्वास देखिन्न । 

आयोजनाको अडिट टनेलको गेट भत्किएर एक जनाको ज्यान जानुका साथै एक जना बेपत्ता भएपछि यसको गुणस्तरमाथि ठूलो प्रश्न उठेको छ । अहिले उक्त टनेलमा भएको त्रुटी सुधार्नेलगायतका काम भइरहेको छ । आयोजनाका अधिकारीहरुका अनुसार कोरोना र लकडाउनका कारण अपेक्षाअनुसार काम गर्न नसकिएकाले ढिलाई भएको हो । 

Advertisement

Advertisement