कोरोनाका कारण यस बर्ष मुस्ताङीहरु बेंसी नझर्ने

Advertisement

म्याग्दी । हिउँदका चार महिना जाडो छल्न बेंसी झर्ने चलनलाई यस वर्ष मुस्ताङीले निरन्तरता नदिने भएका छन् । विगतका वर्षमा उपल्लो मुस्ताङबाट कात्तिक लागेपछि पोखरा झर्ने गरेका उनीहरू कोरोना महामारीका कारण उतै बस्ने भएका हुन् ।

गण्डकी प्रदेशमा मुस्ताङ ‘ग्रिन जोन’ मा रहेको एक मात्रै जिल्ला हो । यहाँ हालसम्म दुई जनामा संक्रमण पुष्टि भएकोमा एक जना निको भइसकेका छन् । कास्की प्रदेशभरिकै उच्च जोखिम रहेको जिल्ला हो । बालबालिकालाई पढाउन पोखरामा सञ्चालन गरिँदै आएको हिउँदे विद्यालय पनि यस वर्ष नचल्ने भएको छ । लोमान्थाङ गाउँपालिका–५ धेकाका कर्मा छिरिङ लोवा यो वर्ष जाडो खपेरै भए पनि घरमै बस्ने बताउँछन् । ‘तल कोरोनाको महामारी छ, बरु यहीं सुरक्षित छौं,’ उनले भने ।

उनका अनुसार अघिल्लो वर्ष बेंसी झर्दा फर्कने बेला बेमौसमी हिमपात भएपछि चैतसम्म पोखरामै रोकिनुपरेको थियो । त्यतिबेलै लकडाउनले थप तीन महिना थुनिए । भन्छन्, ‘अब सहज नहुँदासम्म बेंसी झर्दैनौं ।’

Advertisement

हिउँदमा हिमपात हुँदा अति चिसोबाट वृद्धवृद्धा, बालबालिका बढी प्रभावित हुन्छन् । लोमान्थाङ र लो घ्याकर दामोदरकुण्ड गाउँपालिकाले हिमपात नहुँदै घरघरमा हिटर बाल्न मिल्ने गरी केन्द्रीय बिजुली जोड्ने तयारी गरेको छ ।

Advertisement

Advertisement