सुजाता पनि काँग्रेसको सभापतिमा लड्ने, सभापति भएर पार्टीलाई पुनर्जीवन दिने इच्छा

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवं नेता गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालाले आफ्नो पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी छन् । रिपोर्टर्स क्लवमा उनले आफू पनि सभापतिमा लड्ने घोषणा गरेकी हुन् । 

सुजाता भन्छिन्, ‘पार्टीको पुरानो साखलाई फिर्ता गरेर देशलाई एउटा निकास दिने दृढ संकल्प र अठोटका साथ म पार्टीको चौधौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु ।’ उनले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने संकल्प गरेको बताउँदै पार्टीलाई पुनर्जीवन दिनुपर्ने बेला भएको बताइन् । 

सुजाताले थपिन, ‘आज पार्टीमा निरन्तर योगदान गरेर संगठन गरेका साथीहरु भूमिकाविहीन हुनुभएको छ, पार्टीमा त्याग गरेका इमान्दार नेता तथा कार्यकर्ताहरुको उचित मूल्यांकन भइराखेको छैन ।’

पार्टीभित्र नेता कार्यकर्ताको ठूलो पंक्तिमा चरम निराशा छाएको औल्याउँदै कोइरालाले काँग्रेस शिथिल हुँदा सिंगो मुलुक नै अधिनायकवादतर्फ जाने खतरा बढेको बताइन् ।