दैलेखको पेट्रोल खानीमा ड्रिल गर्न चिनियाँ टोली आउँदै, इन्धनको मात्रा पत्ता लाग्ने

Advertisement

काठमाडौं । बहुप्रतिक्षित दैलेखको पेट्रोलियम खानीमा ड्रिल गर्न चिनियाँ प्राबिधिक टोली आउने भएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेका अनुसार जनवरी महिनामा चिनियाँ प्राबिधिक टोली तथा उपकरण नेपाल आईपुग्ने र तत्कालै ड्रिलिङ आरम्भ गरिनेछ ।  जमिनको सतहबाट ४.५ किलोमिटर गहिरो ड्रिलिङ गरेर पेट्रोलियम पदार्थको मात्रा पत्ता लगाइनेछ । ‘जनवरीमा चिनियाँ प्राबिधिक टोली आउने अनौपचारिक खबर पाएका छौं, कुन ठाउँमा ड्रिल गर्ने भन्ने एकिन भैसकेको छ’, रजौरेले कर्पाेरेट नेपालसँग भने ।

अध्ययनका आधारमा एक ठाउँमा ड्रिल गर्ने निचोड निकालिएको छ । तीन देखि पाँच महिनाको अवधीमा ड्रिलिङको काम समाप्त हुनेछ । जमिनबाट ४.५ किलोमिटर तलसम्म ड्रिलिङ गरिनेछ । यस अघि नै चिनियाँ प्राबिधिक र नेपाली टोलीले सेसिम सर्भे र म्याग्नेटोटेलोरिक सर्भेको काम सम्पन्न गरिसकेका छन् । दैलेखको खानी अन्वेषणमा चाईना जिओलोजिकल सर्भेका तर्फबाट प्रा.डा. टान फुयेनले नेतृत्व गरेका थिए भने नेपालका तर्फबाट रजौरे आफैं नेतृत्व गरिरहेका छन् । अन्वेषणका लागि चीन सरकारले २ अर्ब २५ करोड रुपैयाँ छुट्याएको थियो । 

यसरी अघि बढ्यो काम
यो अन्वेषण योजनाका लागि २०७५ पुस २९ गतेको मन्त्रिपरिषद बैठकले ‘ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ स्वीकृत गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय अनुसार २०७५ फागुन १६ गते खानी तथा भुगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच नेपालमा रहेका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

त्यस अघि पनि चाइना जिओलोजिकल सर्भेको टोलीले सन २०१६ को अप्रिल ३० मा नेपाल आएर सुर्खेत दैलेख, बुटवल पाल्पा र चतरा बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो । २०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो ।

पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन २०७४ साल साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको थियो ।

यी हुन १० ब्लक
नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।

रजौरेले गरे विद्यावारिधी
पेट्रोलियम अन्वेषण परियोजनाको नेतृत्व गरिरहेका सह सचिव सुधिर रजौरेले विद्यावारिधी गरेका छन् । उनले ‘नेपालमा भूकम्प जोखिम विश्लेषण’ विषयमा सोध गरेका थिए । उनको सोधलाई मान्यता दिँदै त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रिय विभागले विद्यावारिधी प्रदान गरेको हो । 
 

Advertisement

Advertisement

Advertisement