राधिका शाक्यलाई खुशी पार्न प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई निमित्त प्रमुख नियुक्ती

Advertisement

काठमाडौं । ऊर्जामन्त्री बर्षमान पुनले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको छन् । कुलमान घिसिङ हटेसँगै उनलाई निमित्त प्रमुख बनाउने तयारी गरिए पनि त्यतिबेला नबनाएर अहिले नियुक्त गरिएको हो । 

मन्त्री पुनले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई खुशी पार्न उनलाई नियुक्त गरेको प्राधिकरण स्रोतको भनाई छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रमुख रहेर काम गर्दै आएका शाक्यलाई घिसिङ हट्नेबित्तिकै कम्पनीबाट काज फिर्ता गर्दा प्रधानमन्त्रीमाथि दोष जाने भएकाले केही ढिलो गरी अहिले नियुक्त गरिएको हो । 

Advertisement

हितेन्द्रदेव शाक्य घिसिङले छोड्नासाथै प्राधिकरणको प्रमुख हुन हतारिएका थिए । उनले राधिका शाक्यमार्फत आफूलाई प्राधिकरण प्रमुख बनाउन लबिङ गर्दै आएका थिए । इन्जिनियरिङ कम्पनीमा काम गर्दागर्दै हतार हतार काज फिर्ता गरेर प्राधिकरणमा ल्याउँदा प्राधिकरण भित्र र बाहिर पनि आलोचना हुने देखेपछि ढिलाई गरिएको प्राधिकरणका एक कर्मचारीले बताए । शाक्यले सोमबार नै पदबाहाली गरेका छन् । 

उनका अनुसार नेकपा विभाजनको स्थितिमा रहेको र मन्त्री पुन प्रधानमन्त्री केपी ओलीलाई खुशी पारेर उनकै पक्षमा आफू रहेको र पुष्पकमल दाहाल प्रचण्डको पक्षमा आफू नरहेको देखाउन पनि अहिले शाक्यलाई नियुक्ति दिएको हुनसक्ने अनुमान गरे । 

घिसिङले प्राधिकरण छोड्ने बेलामा हितेन्द्रदेव शाक्य आफै सक्रिय भएर उनलाई बिदाई गरेका थिए । तर त्यतिबेला शाक्य कम्पनीमा भएकाले अर्को उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई नियुक्ति दिइएको थियो । 

कोइराला निमित्त प्रमुख बनाइएपछि उनी प्राधिकरण आउन छोड्नुका साथै कम्पनी सञ्चालन समितिको बैठक पनि बोलाउन आनाकानी गर्दै आएका थिए । हितेन्द्रदेवलाई राधिकाको साथ रहे पनि उनी प्राधिकरणका क्षमतावान कर्मचारीका रुपमा चिनिन्छन् । 

Advertisement

Advertisement