पहिलो त्रैमासिकको विवरण हेरेर लगानीकर्ताहरुले आत्तिनै पर्दैन-रौनियार

Advertisement

छोटेलाल रौनियार
नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुले धमाधम पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरणहरु सार्वजनिक गरिरहेका छन् । कोरोनाको त्रासका बीच सार्वजनिक भएका त्यस्ता विवरणहरुले पुँजी बजारको उतारचढावमा प्रत्यक्ष प्रभाव राख्छ ।  नेपालको पुँजी बजारमा बैंक तथा वित्तिय संस्थाहरुको सबै भन्दा ठूलो हिस्सा छ । इन्स्योरेन्स कम्पनी र हाइड्रो पावर कम्पनीहरु पनि हाम्रो पुँजी बजारका ठूला हिस्सेदार हुन् । 

अहिले बाणिज्य बैंकहरुको नाफामा गिरावट आएको देखिन्छ । केहि बैंकहरुले कोरोना कालमै पनि राम्रो प्रगति गरेको देखियो । तर अधिकांश बैंकहरुको परफरमेन्स भने औषत भन्दा तल नै रह्यो । यो कोरोना कालमा संसारभर प्रभाव परेकै छ, नेपालमा नपर्ने कुरै भएन् । तर पनि जुन खालको अपरिस्कृत वित्तिय विवरणहरु सार्वजनिक भएका छन् । त्यसबाट पुँजी बजारका लगानीकर्ताले आत्तिनुपर्ने अवस्था मैले देखेको छैन् । अहिले बैंकहरुले आफ्नो पुरै ब्याज उठाउन पाएका छैनन् । अधिकांश ब्याज उठाउनै बाँकी छ, जुन दिन त्यो ब्याज उठ्छ, त्यो दिन बैंकहरुको वित्तिय विवरण थप राम्रो देखिनेछ । 

अहिले बैंक तथा वित्तिय संस्थाहरुले लाभांश पनि राम्रो घोषणा गरिररहेका छन् । हामीले अपेक्षा गरेको भन्दा पनि धेरै लाभांश घोषणा भैरहेको छ । यसले पनि लगानीकर्ताहरुलाई उत्साहित बनाईरहेको छ । कुनै बैंकहरुको वित्तिय विवरणलाई हेरेर समग्रमा विश्लेषण गरिनु हुन्न । अहिले पाईरहेको लाभांशले १२।१५ महिनाको ब्याज तिर्न पुगेको छ । यस्तो अवस्थामा पनि बैंकहरुले १२।१५ प्रतिशत लाभांश दिनु भनेको साह्रै राम्रो हो । 

प्राइम कमर्सियल, एनआइसी एसिया, एनएमबि, मेगा, नेपाल बंगलादेश लगायतका बैंकहरुले यस्तो अवस्थामा पनि राम्रो प्रगति गरेका छन् । पहिले ब्ल्यु चिप्सका सेयरहरु राख्ने चलन थियो । तर अब एभरेष्ट, स्ट्याण्डर्ड चाटर्ड, हिमालयन भन्दा लोकल बैंकहरुको परफरमेन्स राम्रो देखिन थालेको छ । २५०।३०० तिर पाइने मोडरेट सेयरको दिन आएको छ । त्यसमा मूल्य, इपीएस, पीई सबै राम्रो छ र जोखिम पनि कम छ ।  त्यसकारण बैंकको सेयर खरिद गरेकाहरु कसैले पनि डराउनु पर्दैन् । 

बैंकहरुको आम्दानी इन्स्योरेन्स र माइक्रोफाइनान्सको जस्तो झटारे हुन्न । बैंकहरु लामो रेसका घोडा हुन् । कछुवाको गतिमा हिड्छन् । तर राम्रोसँग हिड्छन र गन्तव्यमा पुर्याउँछन् । २००।२५० रुपैयाँमा २४।२५ वर्ष पुराना बैंकहरुको सेयर पाउनु ठूलो कुरा हो । त्यसको नेटवर्थ, इपीएस राम्रो छ, हरेक वर्ष लाभांश दिईरहेको हुन्छ । भारतमा यहि सेयर १५००।२००० रुपैयाँ आजका दिनमा छन् । अहिले बैंकहरुको सेयर मूल्य भनेको आइपीओ भन्दा पनि कम मान्दा हुन्छ । 

अहिले सेयर बजार बढिरहेको छ । यो चार वर्षको साइकल पनि हो र यसमा ब्याजदरले पनि भूमिका खेलेको छ । अहिले ८।८.५ प्रतिशतमा जति चाहे पनि सेयर कर्जा पाईरहेको छ । अबको २।३  वर्ष पुँजी बजारका लागि राम्रो दिन आउँछ । 

इन्स्योरेन्स कम्पनीका कुरा 
इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु पनि आत्तिनु पर्दैन् । कोरोनाकै बीचमा पनि अधिकांश कम्पनीहरुको बीमा शुल्क संकलन बढिरहेकै छ । जीवन होस वा निर्जीवन बीमा कम्पनी दुबैले प्रिमियम उठाएकै छन् ।  बीमा कम्पनीहरुको सेयर मूल्य केहि समय अघि १००।५० रुपैयाँ बढेको थियो । अहिलेको वित्तिय विवरणहरुका कारण अब अझै बढ्नेछ । 

माइक्रोफाइनान्स
माइक्रोफाइनान्स कम्पनीहरुको नतिजा पनि मिश्रित खालको छ । फरवार्ड माइक्रोफाइनान्सको इपीएस ७८ रुपैयाँ देखियो । स्वाबलम्बन, सिबिबिएल, साना किसान, आरएमडीसी जस्ता कम्पनीहरुको परफरमेन्स साह्रै राम्रो छ । यी कम्पनीहरुको सेयर मिलाएर राख्नेहरु मालामाल हुनेछन् । 

हाइड्रो पावर कम्पनी
हाइड्रो पावर कम्पनीहरुले जहिल्यै गाली खाने गरेका थिए । केहि समय अघिसम्म एक सय रुपैयाँका सेयर ७०।८० रुपैयाँमा पाउन थालिएको थियो । किन्ने मान्छे थिएनन् । अहिले त्यहि सेयर २००।२५० रुपैयाँ पुगेका छन् । र अहिले सेयर किन्नेहरुको प्रतिष्पर्धा पनि छ । मूल्य घट्ने बेलामा धेरै कम्पनीहरुले उत्पादन थालेका थिएनन् । अहिले अधिकांश कम्पनीहरुले उत्पादन थालेका छन् । ग्रीडमा जोडेर आम्दानी गर्न थालिसकेका छन् । माउन्टेन हाइड्रो, पीपीसिएल लगायतका ८।१० वटा कम्पनीले नेशनल ग्रीडमा जोडेर पहिलो त्रैमासिकको आम्दानी पनि लगिसकेका छन् । 

यसपाली मनसुन पनि राम्रो भयो, त्यसले उत्पादन पनि बढ्यो र आम्दानी बढायो । त्यति मात्रै होइन, कम्पनीहरुको ३५ प्रतिशत जति ब्याज खर्च पनि घट्यो । यसले हाइड्रो पावर कम्पनीहरुको आम्दानी बढायो ।  त्यसमाथि उर्जा उत्पादक संघले ५० लाखको भ्याट फिर्ताको माग कार्यान्वयन गराउन प्रयास गरिरहेका छन् । ३५ वर्षपछि उर्जा परियोजनाको स्वामित्व सरकारलाई बुझाउनुपर्ने व्यवस्था संसोधन गरेर ६० वर्ष बनाउनुपर्ने माग उठिरहेको छ । यो मागमा उर्जा मन्त्री सकारात्मक छन् भन्ने सन्देश स्थापित भएको छ । यसले गर्दा उर्जा कम्पनीहरु प्रति लगानीकर्ताको विश्वास बढेको छ । एपीएल, एएचपीसी र अपीको इपीएस ३० रुपैयाँ आईपुगेको छ । यो पनि खुसीकै कुरा हो । चिलिमेको पनि परफरमेन्स राम्रो देखिन्छ । 

त्यसकारण, अहिले सेयर बजारका लगानीकर्ताले आत्तिनु पर्दैन् । हाइड्रो पावर कमपनीहरुको वित्तिय विवरण पनि राम्रो देखिन्छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुको अवस्था पनि राम्रो देखिएका छन् । अलिअलि बैंकहरुमा प्रभाव छ जस्तो देखिएको मात्रै हो । बैंकहरुले ब्याज उठाउन पाएका छैनन् । त्यस्तो ब्याज उठेको दिन साह्रै राम्रो अवस्था आउनेछ । 

राजनीतिका कुरा 
अहिले पुँजी बजारका लागि राजनीतिक वातावरण पनि ठिक देखिएको छ । बिष्णु पौडेल अर्थमन्त्री हुँदा नै १८८१ बिन्दुमा नेप्से पुगेको थियो । अहिले पनि उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । डा. खतिवडासँग पुँजी बजारलाई एलर्जी थियो । अहिलेका अर्थमन्त्रीले पुँजी बजारका लागि थप केहि राम्रो निर्णय गर्नुहुन्छ भन्ने अपेक्षा पनि लगानीकर्ताले गरेका छन् । 
कोरोना कालमा संसारभर पुँजी बजारले नयाँ नयाँ रेकर्ड कायम गरिरहेका छन् । लगानीका अन्य क्षेत्रहरु नभएकाले लगानीकर्ताहरु पुँजी बजारमा आकर्षित भएको देखिन्छ । उद्योग धन्दामा लगानी गर्ने वातावरण बिग्रेपछि पुँजी बजारमा लगानीकर्ता ओईरिएका छन् । पहिले त्रैमासिकको वित्तिय विवरण हेरेर आत्तिनु पर्दैन् । 

Advertisement

(नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारसँग गरिएको कुराकानीमा आधारित) 
 

Advertisement

Advertisement