तिहारबारे रोचक प्रशंग

काठमाडौं । दसैंपछिको ठूलो पर्व तिहारबारे केही विषय धेरैलाई थाहा नहुनपनि सक्छ । हामीले तिहारसम्बन्धि केही रोचक प्रशंग प्रस्तुत गरेका छौंः
 
कागलाई यमराजको सन्देश सुनाउने प्रिय दूत मानिन्छ । काग चलाख र सर्वगुणी मात्र नभै यसले सबैलाई समान दृष्टिले हेर्छ भन्ने मान्यता छ । अर्को तथ्य के पनि छ भने काग ग्रहहरूको राजा शनिको वाहन भएकाले शनिको कुदृष्टिबाट आफू, आफ्नो घर तथा दाजुभाइलाई जोगाउन समेत यसको पूजा गरिन्छ ।

सुदूर पश्चिमका पहाडी जिल्लामा कागलाई भिन्दै प्रकारले पुजिन्छ । सुदूरपश्चिममा पुसेतिहार र माघे संक्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार ख्वाउने चलन छ । पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिले कागलाई नै दिने चलन छ । कागले पुस १५ गते तीर्थमा गई स्नान गरी फर्केर रोटी खाने जनविश्वास छ । नुवाइधुवाइ व्रत बसेर कागलाई मीठा–मीठा परिकार दिने चलन सुदुरपश्चिममा अझै कायमै छ ।  

कुकुर आज्ञापालक तथा घरको रक्षकका मानिन्छ । कुकुरलाई यमराजको दूतका रूपमा समेत लिइन्छ । कुकुरलाई मीठा–मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास पनि रहिआएको छ । अर्को तथ्य के पनि छ भने कुकुर भगवान् शिवको विध्वंसकारी अवतार भैरवको वाहन हो । भैरवको कोपभाजनबाट जोगिनसमेत कुकुरको पूजा गरिने जनविश्वास छ । 

कुकुर पाल्नुको वैज्ञानिक कारण पनि छ । घरमा कुकुर पाल्नाले मुटु रोग तथा मधुमेह लाग्दैन भन्नेहरू पनि उत्तिकै छन् । 

हिन्दू धर्ममा गाईलाई माताका रूपमा पुज्ने चलन छ । धार्मिक कार्यमा गाइको गोबर र गहुँतको भिन्दै महत्व छ । पशुधनका रूपमा लिइने गाईलाई गाई तिहारका दिन विशेष पूजा गरिन्छ । गाईको गहुँत औषधिका रूपमा प्रयोग गर्ने चलनका कारण पनि यसलाई महत्व दिइएको हो । 

गाईको गहुँतबाट १ सय ४८ प्रकारका रोग निको हुने वैज्ञानिक मान्यता छ । रूसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी किरणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत तथा गोबरमा हुने कुरा आफ्नो अनुसन्धानमार्फत दशकौंअघि प्रमाणित गरिसकेका छन् । 

तिहारकै बीचमा पर्ने कात्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको विशेष पूजा गर्ने चलन छ । मानिसलाई स्वस्थ रहन आयुर्वेदले ठूलो सहयोग पु¥याएकाले भगवान् धन्वन्तरीको पूजा गर्ने चलन चलेको हो ।  

नेवार समुदायमा पनि तिहारको बेग्लै महत्व छ । तिहारको भाइटीकाको अघिल्लो दिन म्हःपूजा वा आफ्नै शरीरको पूजा गर्ने चलन नेवार समुदायमा छ । शरीरमा शान्ति नभएसम्म आत्माशान्ति नहुने भएकाले तान्त्रिक विधिअनुसार म्हःपूजा गर्ने चलन चलेको हो ।  

म्हपूजाकै दिनदेखि राष्ट्रिय विभूति शंखधर साख्वाःले चलाएको नेपाल संवत्को पनि पात्रो फेरिन्छ । यो संवतको पहिलो दिन विक्रम संवतअनुसार कार्तिक शुक्ल पक्षमा पर्छ । 

नेपाली भाषा तथा साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म पनि तिहारकै बेला भएकाले साहित्यिक रौनक पनि यसैबेला थपिन्छ । लक्ष्मीपूजाका दिन काठमाडौंको धोबीधारामा उनको जन्म भएकाले तिहारको रमझमकैबीच देवकोटालाई स्मरण गर्ने चलन समेत छ ।

तिहारमा बनाइने रंगोलीको बेग्लै महत्व छ । प्राचीन लोककलाका रूपमा तयार पारिने कलात्मक चित्र तथा आकृति घरमा बनाए धन एवं ऐश्वर्यले परिपूर्ण भइन्छ भन्ने विश्वास छ । 

थारु समुदायमा तिहारको बेग्लै महत्व छ । थारुहरू लक्ष्मीपूजाको रातलाई सुखरात्रि वा सुखरात भन्छन् । सुखरात सुनसरी, मोरङका थारुहरूमा बढी प्रचलित छ । सुखरातका अवसरमा थारुहरूले घरमा मौलिक पाराले फूलबुट्टा भरी साँझ लक्ष्मी भित्र्र्याउँछन् । 

जाजरकोटको लैखा गाउँमा तिहारमा भैलो खेल्न पाइदैन् । त्यहाँ कात्तिक १५ देखि एक महिना तिहार उच्चारण गरिएका गीत प्रयोग गर्न पाइँदैन । त्यहाँ महादेव, वर्म देवताको विशेष पूजा गरेर उनकै गुनगान गाएर भैलो खेल्ने चलन छ । प्रत्येक ३ वर्षमा भैलो उठाउने र अन्त्येष्टि गर्ने चलन छ । 

तिहारमा देउसी खेल्दा भट्याइने– ‘हामी त्यसै आएका होइनौं, बलि राजाले पठाएका..’ भन्ने वाक्यांशमा परेका राजा मगर वंशका थिए भन्ने विश्वासका कारण तिहारलाई मगरहरूले आफ्नो प्रिय चाड बताउँदै आएका छन् । त्यसैले मगरहरू तिहार आएसँग सोरठी गाएर नाच्छन् ।
 
किराँती लिम्बू समुदायमा तिहारमा ‘बलिहाङ तङ्नाम’ का रूपमा देउसी खेल्ने चलन छ । त्यस क्रममा बलिहाङको प्रसिद्धि भट्याउँदै च्याम्ब्रुङलगायतका मौलिक बाजाहरूका साथ नृत्य गरिन्छ ।