स्थानीय तहमा ब्रम्हलुट, एउटै साबुनको तीन हजारसम्मको बिल, केन्द्र मुकदर्शक

Advertisement

सप्तरी । जनताका लागि महामारी बनेको कोभिड केही जनप्रतिनिधिका लागि भने कसरी मौका बनिरहेको छ, एउटा अर्को उदाहरण सप्तरीको बोदेबरसाइन नगरपालिकाले प्रस्तुत गरेको छ । यो नगरपालिकाले ३० रुपियाँ पर्ने लाइफबोय साबुनलाई तीन हजार तिरेको विवरण तयार पारेको छ । त्यस्तै, क्वारेन्टिन व्यवस्थापनका नाममा किनिएका दर्जनौँ सामग्रीमा ढुकुटीबाट लुट मच्चाइएको छ । 

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले गरेको खर्च सार्वजनिक गर्न केन्द्रबाट ताकेता भएपछि बोदेबरसाइन नगरपालिकाले बुधबार खर्च सार्वजनिक गरेको थियो । नगरपालिकाले कुल दुई करोड २१ लाख रुपियाँको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपियाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । २२ चैतमा ९५ पिस साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपियाँ खर्च भएको विवरण सार्वजनिक भएको थियो । 

Advertisement

यो विषयमा प्रश्न उठेपछि बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै भनेका छन्, ‘९५ थान होइन, ९५ कार्टुन साबुनको विवरण हो, यो प्रिन्ट मिस्टेक भएछ ।’ 

एक कार्टुनमा एक सय ४४ थान साबुन हुन्छन्, नगरपालिकाले ९५ कार्टुन साबुन किनेको हो भने एक थान साबुनको २६ रुपियाँ तिरेको ठहर्छ । तर, नगरपालिकाले २६ चैतमा फेरि १० कार्टुन (१,४४० थान) साबुन किन्दा चार लाख ३१ हजार नौ सय ५५ रुपियाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यो हिसाबले नगरपालिकाले एक थान साबुनमा दुई सय ९९ रुपियाँ भुक्तान गरेको विवरण तयार पारेको छ । 

नगरपालिकाले ३१ चैतमा ६ हजार नौ सय १२ थान साबुन खरिद गर्दा दुई लाख ३८ हजार ६ रुपियाँको बिल बनाएको छ । यो हिसाबले भने एक थान साबुनको २९ रुपियाँ परेको छ । 

यसरी गोलमाल हिसाब बनाएर बोदेबरसाइन नगरपालिकाले कोरोना महामारी नियन्त्रणका नाममा दुई करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पन्जालगायतका सामग्री खरिदमा हिसाब गोलमाल पारिएको छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement