यसअघि चन्द्र दाईलाई छोडेको हुँ, महासंघको नेतृत्व गर्ने सोँचसहित अघि बढेको छुः  सौरभ

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट उपाध्यक्ष पदका उम्मेदवार सौरभ ज्योतिले तीन वर्षअघि चन्द्र ढकाललाई उपाध्यक्ष पद छाडेकाले यसपटक आफ्नो दावी स्वभाविक भएको बताएका छन् । 

व्यापारीक घराना ज्योति समूहका सक्रिय सदस्य सौरभ अहिले एसोसियट समूहबाट उपाध्यक्षको तयारीमा रहेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यसअघिको निर्वाचनमा ढकाललाई सहयोग गरेको स्मरण गर्दै भने, ‘यसअघि चन्द्र दाईलाई छोडें, यसपटक उपाध्यक्षमा मेरो  स्वाभाविक दावी हो ।’ आफू १२ वर्षदेखि महासंघ कार्यसमितिमा रहेर तथा महासंघको विभिन्न समितिमा रहेर काम गरेको आधारमा पनि आफू स्वाभाविक उम्मेदवार भएको उनी बताउँछन् । 

Advertisement

विगत ३ वर्षदेखि नै उपाध्यक्षको तयारी गर्दै आएका युवा व्यवसायी सौरभ किशोर प्रधानको समूहबाट उपाध्यक्षमा दावी प्रस्तुत गरेका हुन् । आफ्नो समूहमा युवा र अनुभवीहरुको राम्रो कम्बिनेशनसहित १० बर्षको कार्ययोजना रहेको सुनाउँदै उनले निजी क्षेत्र र मुलुकको अर्थतन्त्रका लागि केही गरौं भनेर आफूहरुले टिम तयार गरेको बताउँछन् । 

यसपटकको कार्यकालमा बैंकिङ तथा इन्स्योरेन्स समितिमा बसेर ब्याजदर घटाउने तथा पुनकर्जाको दायरा बढाउन भूमिका खेलेको सौरभले आफूहरु एक कार्यकालको मात्रै नभएर १० वर्षे आर्थिक एजेण्डा लिएर अघि बढेकोले पनि महासंघका सदस्यहरुले आफूहरुलाई साथ दिने विश्वास व्यक्त गर्छन् ।   

उद्यमशिलतामा लाग्दै गरेका नवयुवाहरुलाई उनले असफलताका कथाहरुबाट प्रेरणा लिएर अघि बढ्न अनुरोध पनि गरेका छन् । आफूले सुरु गरेका १० मध्ये ७ वटा व्यवासय असफल भएको र ३ वटामा राम्रो सफलता पाएको पनि सौरभले सुनाए । नेपालमा विशेषगरी होण्डका स्कुटरहरुको रामं्रो बजार विस्तार गर्न सफल भएका व्यवसाय सौरभ ज्योति यसपछिको कार्यकालमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सोचमा छन् । 

नेपालमा आठ सयदेखि एक हजार जना ठूला करदाताले ८० प्रतिशत कर तिर्ने गरेको र बाँकी २० प्रतिशत राजश्व ८० प्रतिशत उद्यमी व्यवसायीबाट संकलन हुने भन्दै उनले अर्थतन्त्रको ६० प्रतिशत हिस्सा अनौपचारिक रहेकाले त्यसलाई पनि करको दायरामा ल्याउनुपर्ने बताउँछन् । 

थप कुराकानी भिडियोमा

Advertisement

Advertisement