अब सरकारी कर्मचारीले लोकसेवा तयारी कक्षा पढाउन नपाउने

काठमाडौँ । सरकारले बहावाला निजामती कर्मचारीहरुलाई तयारी कक्षा तथा प्रशिक्षण कार्यक्रममा पढाउन जान बन्देज गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार यस्तो निर्णय गरेको हो । यो निर्णयपछि यसअघि अनुमति लिएर तयारी कक्षा तथा प्रशिक्षणमा संलग्न हुनेहरुलाई समेत बन्देज लाग्नेछ । 

‘सबै निजामती कर्मचारीलाई सेवा प्रवाहमा तल्लिन बनाई निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउन’ मन्त्रीस्तरीय निर्णय भन्दै सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘तयारी कक्षामा उपस्थित हुन र अनलाईन माध्यमबाट प्रशिक्षणका सम्बन्धमा निर्णय भएको हो ।’ यसअघि कुनै कर्मचारीले पढाउन स्वीकृति लिएको भए त्यो शुक्रबारदेखि निष्क्रिय हुने भयो । मन्त्रालयले नयाँ मापदण्ड नबनेसम्म स्वीकृति नदिनसमेत मातहतका निकायलाई परिपत्र गरेको छ ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, सहसचिव र त्यो भन्दा माथिका कर्मचारीले मन्त्रिपरिषद् र सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई तयारी कक्षा लिन पाउने छैनन् । यो बन्देज लोकसेवा आयोगको विज्ञापन अनुसारका तयारी कक्ष तथा अन्य निकायका प्रतिस्पर्धाका तयारी कक्षाहरुमा समेत लागू हुनेछ । विज्ञप्तिअनुसार, तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन नहुने’ भन्ने उल्लेख छ । यसले कर्मचारीहरुले पढाउनेमात्रै नभई उनीहरुले कक्षामा नोट र पुस्तिकाहरु बाँड्नसमेत नपाउने भएका छन् ।

कान्तिपुर दैनिकबाट ।