कोरोनाका कारण आयुर्वेदिक औषधिको माग बढिरहेको बेला सिंहदरबार बैद्यखाना बन्द

Advertisement

काठमाडौं । कोभिड–१९ संक्रमण बढिरहेका बेला रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिको माग ह्वात्तै बढेको छ । भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका छन् । तर यस्तो बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना विकास समितिले आयुर्वेदिक औषधि उत्पादन नगर्दा अभाव भएको छ ।  

नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानामा शरीरलाई तागत दिने र रोगप्रतिरोधी क्षमता बढाउने शिलाजित, पीडाहर, आसव अरिष्टजस्ता महत्वपूर्ण आयुर्वेदिक औषधि उत्पादन बन्द हुँदा अभाव भएको हो । 

Advertisement

साइड असर नगर्ने हुँदा आयुर्वेदिक औषधि प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको र यस्तो अवस्थामा ठूलो मात्रामा व्यापार गर्न सक्ने अवसर प्राप्त भए पनि सिंहदरबार वैद्यखानामा भण्डारण गरिएका अधिकांश आयुर्वेदिक औषधि सकिएका मात्र छैनन्, उत्पादन पनि ठप्पै भएको छ । यसको प्रत्यक्ष फाइदा निजी आयुर्वेदिक औषधि उत्पादक कम्पनीहरूले लिइरहेको छन् । आयुर्वेदिक औषधि उत्पादन गरेर फाइदा लिन सक्ने अवसर प्राप्त भए पनि सरकारले उत्पादनमा खासै चासो देखाएको छैन । सरकारी कम्पनीले आयुर्वेदिक औषधि उत्पादन नगरेपछि निजी क्षेत्रले चर्को मूल्यमा उपभोक्तालाई गुणस्तरहीन औषधि बिक्री गरिरहेको सरकारी अधिकारीहरूकै दाबी छ ।  

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement