बालिका हत्याको विरोधका क्रममा प्रहरीको गोली लागेका संजय न्यौपानेको मृत्यु

Advertisement

बर्दिबास । प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका  बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ। संजय उपनामले चिनिने उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको मृतकका भतिज सौगात न्यौपाने जानकारी दिए।

तर प्रहरीले भने उनको मृत्युलाई पुष्टि गरेको छैन। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले उनको मृत्युको कुरा पुष्टि हुन बाँकी रहेको बताए।

Advertisement

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने, ‘उनको मृत्युको मैले पनि सुनेको छु। थप खुल्न बाँकी छ।’

६ वर्षीय बालिका गुलाब साह खातुनको निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा भीड नियन्त्रण गर्न मंगलबार प्रहरीले गोली चलाएको थियो। तीघ्रामा गोली लागेका न्यौपाने सख्त घाइते भएका थिए।

उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको थियो। उपचारका क्रममा राति १ बजे उनको मृत्यु भएको भतिज सौगातले जानकारी दिएका हुन्।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement