'मुरारका, गोल्छा र म एउटै टिममा छौं, मलाई सत्ताधारी र विपक्षी दलकै समर्थन छ'

Advertisement

नेपाल उद्योग बाणिाज्य महासंघको ५४ औं साधारण सभामा बरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्य समितिका लागि निर्वाचन हुँदैछ । वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्षसहितको नयाँ टिमका लागि हुने निर्वाचनमा सबै उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् । वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार बनेका चन्द्र प्रसाद ढकालको चुनावी रणनीति र भावी कार्य योजनाबारे गरिएको कुराकानी ।

महासंघको निर्वाचन सम्मुखमै आइपुगेको छ, तयारी कुन चरणमा पुग्यो ? 
नेपाल उद्योग बाणिज्य महासंघको चुनाव गत चैतमै हुनुपर्ने थियो । दुई पटक सारेर यहाँसम्म आइपुगेको हो । साधारण सभा र निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भैसकेका छन् । 

Advertisement

तपाई बरिष्ठ उपाध्यक्षको उम्मेदवार, निर्वाचन जित्ने तयारी चाँही कहाँ पुग्यो ? कति विश्वस्त हुनुहुन्छ ? 
म आफ्नै बलबुँताले सानो व्यवसाय आरम्भ गरेर अहिले एउटा कर्पाेरेट हाउस बनाउन सफल भएको व्यवसायी हुँ । मेरो व्यवसायीक नेटवर्क देशको ७७ वटै जिल्लामा छन् । यहि नेटवर्कका कारण सबै उद्यमी व्यवसायीहरुसँग मेरो निरन्तर सम्पर्क, समन्वय रहँदै आएको छ । देशैभरका व्यवसायीहरुसँग म कुनै न कुनै रुपले जोडिएकै छु । त्यसकै माध्यमबाट जिल्ला नगर उद्योग बाणिज्य संघहरुसँग मेरो एकदमै निकटको सम्बन्ध छ । 

एसोसियट तर्फको कुरा गर्ने हो भने म यहि क्लष्टरबाट सबै भन्दा धेरै मत ल्याएर कार्य समिति सदस्य हुनेदेखि निर्विरोध उपाध्यक्ष भैसकेको छु । त्यसकारण मलाई एसोसियटका तर्फबाट पनि राम्रो मत आउँछ । वस्तुगत तर्फ मसँग उमेशलाल श्रेष्ठ जस्तो उम्मेदवार हुनुहुन्छ । वस्तुगतका धेरै साथिहरुले ‘तपाईले महासंघको नेतृत्व लिनुपर्छ’ भनिरहनु भएको छ । निजी क्षेत्रका मुद्धाहरु तपाईले नै बुलन्द ढंगले उठाउन सक्नुहुन्छ भनिरहनु भएको छ । त्यसकारण पनि जिल्ला नगर, वस्तुगत र एसोसियट तीनै पक्षको राम्रो समर्थन पाईरहेको छु । ठूलो मतान्तरले मेरो जित सुनिश्चित छ भन्ने लाग्छ । १३ गते त केबल औपचारिक घोषणा मात्रै हुने हो, मैले निर्वाचन त अहिले नै जितिसकेको छु । 

जित्छु भनिहाल्नु भयो, कोभिडले अर्थतन्त्रलाई पिरोलिरहेको छ, स्थिर सरकारसँग आर्थिक मुद्धामा समन्वय गर्नु पर्ला, आगामी ६ वर्ष(३ वर्ष बरिष्ठ उपाध्यक्ष र ३ वर्ष अध्यक्ष) काम चाँही के के गर्ने ?
नेपालमा धेरै सम्भावनाहरु छन् । कोरोना भन्दा पहिलेकै कुरा गर्दा पनि व्यवसायीक गतिबिधी बढाउन मैले निकै ठूलो भूमिका खेलेको थिएँ । नेपाल लगानीका लागि भर्जिन ल्याण्ड हो । तथापी यो एक्सप्लोर हुन सकेको छैन् । पोलिसी राम्रो नभएकाले नेपालको सम्भावनाको उपयोग गर्न नसकिएको हो । राम्रोसँग लगानी बढाउन नसकिएको हो । चैतपछि कोरोनाका कारण लकडाउन लाग्यो र अर्थतन्त्र तहसनहस भयो । त्यसले हामीलाई अझै धेरै पछि धकेलिदिएको छ । 

एकातिर सम्भावना भएर पनि पोलिसीका कारण लगानी बढाउन नसकिएको अवस्था छ । अब लगानी मैत्री नीति बनाउन पनि भूमिका खेल्नुपर्नेछ । अर्काे तिर कोरोनाले तहसनहस बनाएको अर्थतन्त्रलाई पनि रिभाइभ गर्न पनि भूमिका खेल्नुपर्नेछ । त्यसका लागि नेपाल सरकारसँग नीतिगत रुपमा समन्वय र सहकार्य गर्न महासंघका तर्फबाट भूमिका खेल्नुपर्नेछ । 
पोलिसीमा के के सुधार गर्दा लगानीको वातावरण बनाउन सकिन्छ ? कोरोनाका कारण बन्द भएका उद्योगहरु कसरी सुचारु गर्ने ? रोजगारी गुमाएका लाखौं नागरिकहरुलाई कसरी पुन रोजगारीमा जोड्ने ? समग्र अर्थतन्त्रलाई कसरी सुधारको बाटोमा अघि बढाउन सकिन्छ ? भन्ने विषयमा म काम गर्नेछु । 
निजी क्षेत्रका तर्फबाट महासंघ मार्फत नेपाल सरकार र सम्बन्धित पक्षसँगको समन्वयमा काम गर्नेछु । 

हिजो तपाई पशुपति मुरारका, शेखर गोल्छाहरुसँगै हुनुहुन्थ्यो, तर आज फरक कित्तामा उभिएर हिलो छ्याप्दै गरेको देखिन्छ, यस्तो परिस्थिति किन बन्यो ?
 
नेपाल उद्योग बाणिज्य महासंघमा प्रवेश गरेदेखि अहिलेसम्म नै महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, अब बन्ने अध्यक्ष शेखर गोल्छा र म एउटै टिममा छौं । शेखर गोल्छा वरिष्ठ उपाध्यक्षको निर्वाचन लडिरहँदा म एसोसियट उपाध्यक्ष बन्ने दौडमा थिएँ । मलाई निर्विरोध एसोसियट उपाध्यक्ष बनाउन उहाँहरुको पनि भूमिका थियो । शेखर गोल्छा जीलाई वरिष्ठ उपाध्यक्ष बनाउन मेरो पनि भूमिका रह्यो । 

शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष बनिसकेपछि उहाँलाई हटाउनका लागि विधान संसोधनको खेल सुरु भयो । त्यसमा पनि म शेखर जीलाई हटाउन हुन्न भन्ने मै लागिरहेँ । शेखर जी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्था अनुसार निर्वाचन लडेर आएको हुनाले त्यसलाई नै निरन्तरता दिनुपर्छ भन्ने मेरो स्पष्ट धारणा थियो । 
तर अहिले शेखर जीले मेरो प्रतिष्र्धीमा उठाउनु भएका किशोर जी त्यतिबेला विधान संसोधन गरेर शेखरलाई हटाउनुपर्छ भनेर लागिपर्नु भएको थियो । शेखर गोल्छालाई हटाएर म अध्यक्ष लड्छु भनेर किशोरजीले भन्नु भएको थियो । त्यतिबेला मैले शेखरजीको पक्षमा आफ्नो स्ट्याण्ड कायमै राखेको थिएँ । 

किशोरजीले यसअघि पनि शेखरजीसँगै वरिष्ठ उपाध्यक्षको निर्वाचन हार्नु भएको थियो । त्यसपछि पनि शेखरजीलाई स्वतः अध्यक्ष बन्न नदिने विधान संसोधनको खेलमा किशोरजी लागिरहनु भयो । त्यसकारण म सुरुदेखि नै शेखरजीसँगै थिएँ, र अहिले पनि उहाँसँगै छु । 

किशोरजीले शेखरजीसँग निर्वाचन हार्न भयो, फेरी उहाँलाई हटाउन विधान संसोधनमा लाग्नु भयो, तर आज शेखरजी उहाँलाई नै बरिष्ठ उपाध्यक्ष बनाउन लागिपर्नु भएको छ । यो चाँही किन भयो मैले पनि बुझ्न सकिरहेको छैन् । 

तर तपाईँ पनि त विधान संसोधन गर्नुपर्छ भन्ने अभियन्ताको टिममा आउनु भयो भन्ने आरोप छ नी त ?
त्यो विलकुलै गलत हो । मैले कहिल्यै पनि विधान संसोधन गर्नुपर्छ भनिन् । विधान संसोधन गर्न समिति बनेको पहिलो दिन देखि नै विधान संसोधन गर्नुहुन्न भन्ने मेरो धारणा र अडान थियो । कम्तिमा पनि एक दुई कार्यकाल अभ्यास गरेपछि त्यसको नतिजाका आधारमा मात्रै संसोधन गर्नुपर्छ भन्ने स्पष्ट धारणा थियो । ताकि यो प्रणाली नै गलत हो वा त्यहाँ बस्नेहरुका कारण समस्या आउने गरेको हो भन्ने एकिन गरेपछि मात्रै संसोधन गर्नुपर्छ भन्ने व्यक्ति मै हुँ । 

तपाईले वरिष्ठ उपाध्यक्षको निर्वाचन जित्दा शेखर गोल्छालाई काम गर्न असहयोग गर्ने र र त्यहि बीचमा विधान संसोधनको डण्डा लगाएर तपाईलाई स्वतः अध्यक्ष बन्न नदिने र जसले महासंघलाई थप गलत बाटोमा लैजाने त होइन भन्ने संसय पनि मतदाताहरुमा रहेछ नी ? 
चुनावी अवधीमा पक्ष विपक्षमा हुने कुरा स्वभाविक हो । यद्यपी शेखरजीले जसरी खुलेर किशोरजीको पक्ष लिनुभयो, त्यसो गर्नु हुनेथिएन् । महासंघको विधानको मर्म अनुसार पनि शेखरजीले किशोरजीलाई त्यसरी मेरो समुह भनेर अघि सार्नु हुने  थिएन् । तथापी मैले मेरो आफ्नो तर्फबाट १३ गतेसम्म मात्रै पक्ष विपक्ष हो, त्यसपछि सबै एक हौं भनेकै छु । १३ गतेपछि किशोर दाई, शेखरजी हामी सबै एकै हौं । निर्वाचित नहुने साथीहरु पनि व्यवसायी नै हो । हाम्रो साझा एजेण्डा भनेको व्यवासयीक गतिबिधीमा नेपाल सरकारसँग लबिङ गर्ने हो । निर्वाचनका कारण शेखरजीलाई मैले असहयोग गर्ने र उहाँले पनि मलाई अध्यक्ष बन्न नदिने भन्ने हुन्न । पक्कै पनि म आफुले चाँही अर्काे कार्यकाल बरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष भैरहँदा विधानको मर्म अनुसार बरिष्ठ उपाध्यक्षको भूमिका निभाउँछु । कुनै पक्षधरतामा लाग्ने छैन् । 

सरकारपछिको शसक्त संगठन भन्ने तर आफैंभित्र आरोप प्रत्यारोपमा उत्रिने यो रवैयाले सरकारसँगको लबिङलाई कसरी बलियो बनाउला ? अरु चेम्बर अर्गनाइजेशनहरुसँग कसरी साँझेदारी गर्ला र ?
म महासंघको वर्तमान कार्यकालमा एसोसियट उपाध्यक्षका रुपमा रोजगारदाता परिषदको सभापति छु । यो भूमिकालाई मैले राम्रोसँग निभाएको छु, धेरै राम्रा काम गरेको छु । कामदारहरुको न्युनतम तलबको कुरा होस वा लकडाउनमा ५० प्रतिशत तलब दिने कुरा नै किन नहोस, यो मेरै अगुवाईमा भएको हो । सरकारले लकडाउन अवधीमा शतप्रतिशत तलब दिनुपर्छ भनिरहेको थियो, मेरै अगुवाईमा ५० प्रतिशत दिए हुने सुबिधा प्राप्त भएको हो । त्यसमा मजनुदर युनियन र सरकार दुबैलाई मनाएँ । त्यो ठूलो सफलता थियो । आईएलओसँगको सम्बन्धको कुरा होस वा प्रदेशस्तरका कार्यालय स्थापना तथा पूर्वाधारको काममा पनि मेरो योगदान छ । 

रोजगारदाता परिषदको माध्यमबाट नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, घरेलु तथा साना उद्योग महासंघ जस्ता अन्य चेम्बर अर्गनाइजेशनहरुलाई एकै ठाउँमा ल्याएर निर्णय गराएको हुँ । म आईसकेपछि निजी क्षेत्रको साझा धारणा बन्नेछ, सबै चेम्बर अर्गनाइजेशनहरु एउटै मुद्धामा एकिकृत हुनेछन् । निजी क्षेत्रको उपयुक्त संयोजन हुनेछ ।
 
तपाईलाई महासंघमा राजनीतिक रंग भित्र्याएको आरोप छ, प्रोक्सी संकलनमा पनि दादागिरी देखाएको आरोप रहेछ, किन त्यस्तो भयो ?
त्यो सरासर गलत, आधारहिन र प्रायोजित प्रचार मात्रै हो । म त्यतातिर जान चाहान्न । सम्पूर्ण राजनीतिक दलका नेताहरुले चन्द्र ढकाल नै महासंघको नेतृत्वमा आउनुपर्छ भन्नु भएको छ । सत्ताधारीको मात्रै होइन प्रतिपक्षी र अरु दलहरुले पनि मलाई महासंघको नेतृत्वमा देख्न चाहानु भएको छ । महासंघमा  व्यवसायीक व्यक्ति भएन भने निजी क्षेत्रको विकास र सरकारसँगको सम्बन्ध राम्रो हुन्न भनेर नै मलाई सबै दलहरुले समर्थन गर्नु भएको हो । यसअघि दलहरुले फरक फरक उम्मेदवारलाई सघाएका हुन सक्छन् । तर यसपाली सबै दलको रोजाईमा मै परेको छु । म सबै राजनीतिक दलको साझा उम्मेदवार हुँ । 

निजी क्षेत्रको एडभोकेसी गर्न सक्ने, आर्थिक गतिबिधी बढाउने, रोजगारी सृजना गर्ने, सरकारलाई कर बुझाउने र समृद्ध नेपाल बनाउने एक मात्रै विकल्पका रुपमा चन्द्र ढकाल नै हो भन्ने सबैको निष्कर्ष छ । 

सरकार र निजी क्षेत्रबीचको सम्बन्धबारे केहि अस्पष्टता देखियो, यी दुई सधै विपरिद ध्रुवमा उभिनुपर्नेहरु हुन की सहकार्य गर्नुपर्नेहरु हुन् ?
पहिले पहिले सरकारसँग झगडा गरेर, सडकमा जुलुस निकालेर आफ्ना माग पुरा गराउनुपर्ने अवस्था थियो । तर अहिले त्यस्तो अवस्था छैन् । मजदुर युनियनलाई कोरोना कालमा ५० प्रतिशत तलबमा चित्त बुझाउने वातावरण बनाउनु चानचुने कुरा थिएन् । त्यसका लागि हामीले जुलुस निकालेनौं । त्यो समन्वयकै कारण सम्भव भएको थियो । विवाद र झैझगडाबाट आफ्ना माग पुरा गराउने कुरा पुरातन भैसक्यो । अब जसले टेबलमा समन्वयात्मक ढंगले आफ्ना कुरा राख्छ, उसैका एजेण्डा सफल हुन्छन् । सरकार र निजी क्षेत्र प्रतिष्पर्धी होइनन्, साँझेदार हुन् । 

आफ्ना मतदातालाई तपाईका के अपिल छन् ?
नेपाल उद्योग बाणिज्य महासंघको ५० औं वर्ष पुरानो इतिहास छ । यसको गरिमा छ, यसले निजी क्षेत्रको मुल नेतृत्व गर्छ । यसको नेतृत्वमा सहि अर्थको स्टेक होल्डर जान सक्यो भने सानादेखि ठूला व्यवसायीको पनि हित हुनेछ । जिल्ला नगरका किराना पसलेदेखि घरेलु उद्योगी, ठूला कर्पाेरेट हाउसहरुको पनि एजेण्डाहरुको सम्बोधन हुनेछ । भोली वैदेशिक लगानी भित्र्याउन पनि भूमिका पहल गर्न सक्छ । 

आर्थिक पोलिसी निर्माणमा सरकारसँग लबिङ गर्न पनि मैले ५४ औं बार्षिक साधारण सभा हुने निर्वाचनमा  बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी दिएको  छु । जिल्ला नगर, वस्तुगत तथा एसोसियट तर्फका सबै मतदाताहरुले मलाई अत्यधिक मतले विजयी गराउनु हुनेछ । र निजी क्षेत्रको एडभोकेसीका लागि महासंघको नेतृत्वमा पुर्याउनु हुन आग्रह गर्दछु । 
 

Advertisement

Advertisement