रुसले भारतमा कोरोना बिरुद्धको १० करोड डोज खोप उत्पादन गर्ने

Advertisement

मस्को । कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ । रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले एक विज्ञप्ती प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को शुरुदेखि नै प्रारम्भ हुनेछ । 

यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोपहरु ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् । रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति डोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपहरुको तुलनामा निकै सस्तो रहेको बताइएको छ ।

Advertisement

रसियाले गत अगस्टमै कोरोनाभाइरस विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर ठूलो स्तरको क्लिनिकल परीक्षण बेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो ।  हाल स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रुपमा सहभागिता जनाएका छन् । 

तेस्रो चरणको परीक्षण पूर्व सोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएला समेतका मुलुकमा जारी छ । भारत बाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ । आरडिआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गर्नु भएको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गरे । रासस-एएफपी   

Advertisement

Advertisement