शेयर बजारमा नयाँ रेकर्ड: बैंकिङ समूहमा झुम्मिए लगानीकर्ता, ९ अर्ब २२ करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पनि उछाल आएको छ । पछिल्लो शेयर कारोबार भएका १३ दिन मध्ये १२ दिन बजार बढेको छ भने आज पनि बजार उल्लेख्य अंकले उकालो लागेको हो । 

बजार बढेसँगै गत साताको अन्तिम दिन विहीबार शेयर बजारमा बनेका नयाँ रेकर्ड आज ब्रेक भएको छ । गत विहीबार अहिलेसम्मकै उच्च अंकमा पुगेर बन्द भएको नेप्से परिसूचक आज झनै अग्लिएको छ । गत बिहीबार १८९३.२४ अंकमा पुगेर रोकिएको नेप्से परिसूचक आज ७५.०२ अंकले उकालो लाग्दै १९६८.२७ अंकमा पुगेर बिश्राम लिएको छ । 

Advertisement

त्यसैगरी गतसाताको बिहीबार एकैदिन ७ अर्ब ६१ करोडको कारोबार भएर नयाँ रेकर्ड स्थापित भएकोमा आज कारोबार रकम पनि बढेर ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपियाँ पुगेको छ । यो रकम पनि अहिलेसम्म एकै दिन कारोबार भएको उच्च रकम हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ३.९६ प्रतिशतले बजार बढेको हो । आज २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच हुँदा कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको हो । 

शेयर बजारमा उछाल आएको दिन आज ट्रेडिङ समूह, होटल समूह, निर्जीवन बीमा समूह र उत्पादनमूलक समूह भने घटेका छन् । बाँकी अरु समूहमा हरियाली छाएको छ । आज बैंक र बीमा समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । निर्जीवन बीमा समूह २४५.७५ अंक, विकास बैंक समूह १७३.८४ अंक र बैंकिङ समूह ११२.३२ अंकले बढेको नेप्सेले जनाएको छ । 

आज ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी कमर्सियल बैंकका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । धेरै नाफा कमाउने १० कम्पनीमा सबै बैंकहरु नै छन् ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका शेयरधनीहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् । नेप्सेका अनुसार आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भएको छ । पुनर्बीमा कम्पनीको ५१ करोड ७९ लाख ९१ हजार ८ सय ३७ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 
 

Advertisement

Advertisement