काठमाडौँ । नेकपा सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले शनिबार जवाफी दस्ताबेज पेस गर्नुअघि ४७ मिनेट भाषण गरे । सचिवालय स्रोतका अनुसार उक्त मन्तव्यबाट उनले चारवटा मुख्य सन्देश दिएका छन् ।
पहिलो– अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई औपचारिक बैठकमा प्रवेश र छलफल गराउन सकिँदैन, दोस्रो– बहुमत अल्पमतबाट निर्णय हुँदैन, तेस्रो– एकता कायम राख्न दाहालले प्रस्ताव फिर्ता लिएर क्षमायाचना गर्नुपर्छ र चौथो– यसो नहुने हो भने २०७५ जेठ २ अघिको अवस्थामा फर्किंदा हुन्छ । यति भनिसकेपछि ३८ पृष्ठ लामो जवाफी दस्ताबेज पेस गर्दै प्रधानमन्त्री ओलीले उनै दाहालसँग लिखित रूपमा सोधेका छन्, ‘अहिलेको वादप्रतिवाद संवादको हो कि विग्रहको ?’
यही प्रश्न स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग गरिएको थियो । जवाफमा भुसालले भने, ‘अहिले हामी विग्रहपूर्ण संवादको अवस्थामा छौं । संवाद भएको छैन भनौं भने चिठीपत्रको माध्यमबाट भए पनि नेताहरूले कुराकानी गरिरहनुभएको छ, संवाद भइरहेको छ भनौं भने उहाँहरू पार्टी विभाजनको चरणभन्दा पनि अगाडि बढेर आरोप–प्रत्यारोप गरिरहनुभएको छ ।’ प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच पछिल्लो समय भइरहेको तिक्ततापूर्ण आरोप–प्रत्यारोप टुटफुटपूर्ण नेपाली कम्युनिस्ट आन्दोलनको सिलसिला नै हो ।
कान्तिपुर दैनिकबाट ।