महासंघ नेतृत्वले गर्यो पदभार ग्रहण, विधान संशोधनमा दिइएको तनाव मेरो अनुभवः गोल्छा

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्वाचनका क्रममा घोचपेच, मनमुटाव भए पनि सबै सकिएको बताएका छन्। महासंघको पदभार ग्रहण गर्दै अध्यक्ष गोल्छाले सबै मनमुटाव हटाएर व्यवसायी एक हुने बताए। ‘निर्वाचनका क्रममा केही थिए भने पनि आजबाट सकिए’, उनले भने, ‘भोलिबाट व्यवसायीको हितका लागि लाग्नेछौं।’ नवनिर्वाचित कार्यसमितिको आइतबार सम्पन्न  पदभार ग्रहण कार्यक्रममा उनले  यस्तो बताएका हुन्।

अध्यक्ष गोल्छाले आफ्ना बुवा र दाजुको महासंघ नेतृत्व गर्ने सपना पूरा नभए पनि आफू नेतृत्वमा आएपछि खुसी व्यक्त गरे। गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणा पहिलो महिलाका रूपमा नेतृत्वमा सफल रहेको स्मरण गरे। व्यवसायीको हित र कोरोना भाइरसको जोखिममा सफल नेतृत्व गरेको उनले बताए।  विगत तीन वर्षदेखि विधान संशोधनका नाममा गुटउपगुट भएर मानसिक तनाव भए पनि त्यो सिकाइका रूपमा रहेको उनले बताए। सदैव व्यवसायीको हितका लागि लाग्ने उनले बताए। ‘निर्वाचनसम्म प्यानल भए पनि अब हामी सबै एक हौं’, उनले भने । तत्कालका लागि कोरोना महामारीबाट राहत दिन काम गर्ने विश्वास उनले दिलाए। 

Advertisement

अल्पकालीन, दीर्घकालीन र मध्यकालीन नीति बनाएर अघि बढ्ने उनले सुनाए।  निवर्तमान अध्यक्ष भवानी राणाले सरकारसँगै मिलेर चुनौती सामना गर्दै अघि बढ्नुपर्ने बताइन्। 

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement