किन बढ्यो बजार ?

धितोपत्र बजारको दिगो विकास महत्वपूर्ण हो- डा. भट्ट

Advertisement

डा.गुणाकर भट्ट

धितोपत्र बजार विकासका लागि दुई वटा पक्ष महत्वपूर्ण हुन्छन् । पहिलो समग्र अर्थतन्त्र कसरी अघि बढिरहेको भन्ने पक्ष हो । दोश्रो, प्राविधिक विश्लेषण हो । सेयरको मूल्य वृद्धि भैरहेका कम्पनी वा म्युचुअल फण्डहरुको वित्तिय विश्लेषण गरेर तिनको अवस्था र सम्भावना हेरिनुपर्छ । अहिले कम्पनीको अवस्था कस्तो छ ? सकारात्मक पक्ष के के हुन भन्ने विश्लेषण पनि लगानीकर्ताहरुले गरिरहेका हुन्छन् र गर्नु पनि पर्छ । कम्पनीहरुको प्राविधिक विश्लेषण गर्ने काम लगानीकर्ता कै हो, त्यस बारे मेरो खास धारणा छैन् र मैले त्यसरी हेरेको पनि छैन् । तर अर्थन्त्रको अवस्थाबारे भने मेरा केहि स्पष्ट धारणाहरु छन् । 

अहिले अर्थतन्त्रको स्थायित्वसँग जोडिएका सूचकहरु ठिक छन् । विदेशी विनिमय सञ्चितिदेखि मुद्रास्फितिसम्मको अवस्था ठिकठाक छ । तर आर्थिक वृद्धि भने न्युन छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धि नगन्य जस्तै थियो । चालु आवको पहिलो त्रैमासिकमा पनि आर्थिक गतिबिधी गतिशिल हुन सकिरहेको थिएन् । अब कोरोनाको त्रास घट्दै गर्दा, भ्याक्सिनहरु बन्दै गर्दा नेपालको आर्थिक गतिबिधी पनि विस्तारै बढ्दै जान्छ भन्ने अपेक्षा सकिन्छ । 

Advertisement

किन बढ्यो बजार ?
अहिले धितोपत्र बजार निरन्तर बढिरहेको देखिन्छ । तर कम्पनीहरुको वित्तिय विवरणहरुको प्राविधिक विश्लेषण, अर्थतन्त्रका सूचकहरुले धितोपत्र बजारको विकासलाई सहयोग गरिरहेको छ जस्तो लाग्दैन् । लगानीकर्ताहरुमा बजार अझै माथि जान्छ भन्ने अपेक्षा देखिएको छ । कम्पनीहरुले राम्रै प्रतिफल दिईरहेका छन् र त्यो भावी दिनमा पनि हुनेछ भन्ने अनुमान लगानीकर्ताहरुले गरेको जस्तो देखिन्छ । 

दोश्रो भनेको अहिले बजारमा पर्याप्त तरलताको अवस्था छ । ब्याजदर पनि घटेकै छ । २०७६ असोजमा १२ प्रतिशत रहेको ब्याजदर अहिले ९.८ प्रतिशतमा सिमित भएको छ । त्यसकारण ब्याजदर घट्ने, तरलता पर्याप्त हुने र लगानीकर्तामा बजार बढिरहन्छ भन्ने अपेक्षाले पुँजी बजारलाई डोर्याईरहेको देखिन्छ । 

विश्व पुँजी बजार र नेपाल
कोरोनाको संक्रमणका बीच विश्व पुँजी बजारको उतारचढावले नेपालको पुँजी बजारमा काम गरेको जस्तो देखिन्न । पछिल्लो तीन महिना(अगस्टपछि)को तथ्यांक हेर्ने हो भने बम्बई स्टक र टोकियो स्टक बाहेक अरु कुनै पनि स्टक एक्सचेञ्जको इण्डेक्स १० प्रतिशत भन्दा धेरै बढेको देखिन्न । विकसित मुलुकहरुका स्टक एक्सचेञ्ज ६।७ प्रतिशतले मात्रै बढेका छन् । नेपालका सन्दर्भमा हेर्ने हो भने भदौ १ देखि मंसिर १३ गतेसम्मको अवधीमा ३५ प्रतिशतले नेप्से इण्डेक्स बढेको देखिन्छ । त्यसकारण अन्तराष्ट्रिय पुँजी बजारमा पनि बुलिस ट्रेण्ड चलेको छ र नेपालमा पनि त्यसै भएको हो भन्न सकिने अवस्था छैन् । विश्व पुँजी बजार त्यति धेरै बढिरहेको छैन् । विश्व पुँजी बजार पनि बढेकै छ, विस्तार भएकै छ तर बबल उत्पन्न भएको भने छैन् । 

अब हामी कहाँ बबल हो की होइन लगानीकर्ता र विश्लेषकहरुले भन्ने कुरा हो । तर यो थोरै समयमा बजार जुन हिसाबले माथि गैरहेको छ, त्यसको दिगोपना हुनका लागि बजारमा संस्थागत र उपकरणगत विविधिकरण हुनुपर्ने थियो । हाम्रो बजारमा त्यस्तो छैन् । अहिले तरलता पर्याप्त छ, भोली आयात बढ्ने, रेमिटेन्स पनि प्रभावित हुने अवस्था आयो भने तरलतामा दवाव पार्न सक्छ । त्यसले बजारमा पनि प्रभाव पार्न सक्छ । 

जोखिममा नयाँ लगानीकर्ता
जुन हिसाबबाट बजार बढिरहेको छ, यो अवस्थामा साना लगानीकर्ताहरुको हितको रक्षा गर्नु चुनौतीपूर्ण नै छ । लगानीकर्ताहरुले भोलीको सम्भावित परिदृश्य अध्ययन गर्नुपर्छ । तरलता दबावमा गयो भने आफ्नो पोर्टफोलियो कसरी व्यवस्थापन गर्ने हो ? जोखिम कति उठाउन सक्ने हो ?  जोखिम उठाउन सक्ने क्षमता र सेयर होल्डको विषयमा पनि स्पष्ट हुनु आवश्यक छ । 

भोली बजार वियरिस ट्रेण्डमा जाँदा पनि मलाई समस्या पर्दैन भन्ने आंकलन गरेर बस्नुपर्छ । आज बजार बढिरहँदा केहि कमाई भएको छ, भोली बजार घट्यो भने पनि त्यहिँबाट कमाएको हो, त्यहिँ गयो भन्ने मनस्थिति तयार गरेर बस्नुपर्छ । जोखिम उठाउने क्षमता छैन भने सचेत चाँही हुनै पर्छ । लहै लहैमा दौड्ने होइन् । भोली ब्याजदरमा दबाव भयो, तरलतामा दवाब भयो भने बजार घट्न पनि सक्छ । धितोपत्र बजार त सेन्टिमेन्टमा पनि चल्ने गर्छ । 

कहाँबाट आयो पैसा ?
अहिले बैंकिङ क्षेत्रमा पर्याप्त मात्रामा साधन छ । त्यहि साधन पुँजी बजारमा गएको हो । त्यस बाहेक अरु केहि कुरा छन् भने पनि सम्बन्धित निकायले हेर्नुपर्छ । कसैको बदनियत पो छ की ? बाहिरबाट पैसा पो आएको छ की भनेर पनि सम्बन्धित निकायले हेर्नुपर्छ । डा. गुणाकर भट्टका व्यक्तिगत विचार(कुराकानीमा आधारित)
 

Advertisement

Advertisement