बिष्णुको बर्थडे केक खाएर मुख मिठ्याएका नेकपाका नेताहरुले बैठकमा तितो मात्रै ओकले

Advertisement

काठमाडौं । 
स्थानः     प्रधानमन्त्री निवास बालुवाटार
समयः     दिउँसो १ः१५ बजे
 नेकपा सचिवालय बैठक

०००

Advertisement

सत्तारूढ दल नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमै पुगेको छ। पार्टी एकतायताको सबैभन्दा तिक्ततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको छ। बैठकको कार्यसूची तय गर्ने विषयमै दुई अध्यक्षबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको सचिवालयका एक सदस्यले बताए।

अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले यही मंसिर १३ गते आआफ्ना प्रस्ताव राखेका थिए। तर, ती प्रस्ताव छलफलमा लैजाने–नलैजाने कार्यसूचीकै विषयमा चर्को विवाद सचिवालय बैठकमा भएको हो।
बैठकको सुरुमै प्रधानमन्त्री ओलीले महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसर पारेर केक काट्ने र जन्मदिन मनाउने विशेष कार्यक्रम राखेका थिए। त्यसपछि केक काटेर नेताहरूले मुख मिठ्याएपछि बाझाबाझ गरेका थिए।

०००

ओलीः बैठक सुरु गरौं। आज महासचिव कमरेडको जन्मदिन छ। उहाँ (पौडेल) आजबाट ६२ वर्षमा प्रवेश गर्नुभएको छ। मैले एउटा बर्थडेमा केक पार्टी राखेको छु। केक खाएर महासचिवको जन्मदिन मनाऔं। अनि सुरु गरौं।

(प्रधानमन्त्री ओलीले सुरुमै महासचिव पौडेलको ‘बर्थ डे विस’ गर्ने कार्यक्रम सुनाए। आफ्ना निजी सचिवालयका सहयोगीलाई केक ल्याउन अह्राए। केक आयो। महासचिवले केक काटे। प्रधानमन्त्रीदेखि अन्य नेताहरूले पौडेललाई जन्मदिनको शुभकामना पनि दिए।)

त्यसपछि सुरुमै प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष दाहालतर्फ हेर्दै भने, ‘बैठकको एजेन्डा के छन् ? प्रस्ताव के छन् ? ल सुरु गर्नुस् बैठक ?’

दाहालः पार्टी अहिले गम्भीर संकट र जटिल मोडमा छ। तपाईंं (प्रधानमन्त्री) र मैले दुवैले आआफ्ना धारणाहरू, दृष्टिकोणहरू पार्टीभित्रको समस्या समाधानका लागि पेस गरेका छौं। बैठकमा सचिवालय सदस्यहरूले त्यसलाई गम्भीरतापूर्वक अध्ययन पनि गर्नुभएको छ। त्यही हो एजेन्डा। त्यही हो कार्यसूची। 

त्यसमा सार्थक छलफल गरेर निष्कर्ष निकाल्ने हो। आजको छलफल त्यसैमा अगाडि बढ्छ। यसमा तपाईं के भन्न चाहनुहुन्छ ?

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement