तनहुँमा पौडेलले पुल उदघाटन् गर्न लागेपछि साँसद कृष्ण श्रेष्ठको अवरोध

Advertisement

दमौली । व्यास नगरपालिकाले निर्माण गरेको पूल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उदघाटन गर्न नदिन यसै जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ साँसद कृष्णकुमार श्रेष्ठले अवरोध गरेका छन् । 

पौडेलबाट पुल उदघाटन गर्न लागेको थापा पाएपछि श्रेष्ठले आफ्ना समर्थकहरुलाई विरोध प्रदर्शनमा उतारेका थिए । सोही विरोधपछि स्थानीय प्रशासनले दमौलीमा निषेधाज्ञा जारी गर्नुका साथै उदघाटन कार्यक्रम स्थगित गर्न आग्रह गरेको थियो । 

Advertisement

तर, काँग्रेसले पूर्वनिर्धारित कार्यक्रम नरोकिने भन्दै पुल उदघाटन अघि बढाएपछि प्रहरीले वरिष्ठ नेता पौडेल, तनहुँ काँग्रेसका कार्यबहाक सभापति जीतबहादुर आलेलगायतलाई पक्राउ गरेको छ । 

काँग्रेसले साँसद कृष्ण श्रेष्ठले सत्ताको आडमा स्थानीय प्रशासनको दुरुपयोग गरेको बताएको छ । साँसद श्रेष्ठले आफ्ना गुण्डाहरु प्रयोग गरेर विरोध प्रदर्शन गर्न लगाउने र निषेधाज्ञाको नाममा पुल उदघाटन रोक्ने काम गरेको भन्दै काँग्रेसले विरोध जनाएको छ । नेकपाका कार्यकर्ताले प्रदर्शन गर्दै पौडेललाई पुल उद्घाटन गर्न नदिन माग गरेका थिए । सोही प्रदर्शनपछि सुरक्षालाई कारण देखाउँदै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा जारी गरेका थिए । 

पौडेलले व्यास नपा वडा नं। १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्न लागेका थिए । काँग्रेसको समेत सहभागितामा उक्त पुल उदघाटन गर्ने बताउँदै पौडेलबाट हुन लागेको उद्घाटन स्थगित गर्न आग्रह गरेका थिए । आफू सत्ताधारी दलको साँसद भएकाले आफूबाट उक्त पुल उदघाटन हुनुपर्ने कृष्ण श्रेष्ठको भनाई छ । काँग्रेसले भने आफूहरुको पहलमा बनेको पुल आफूहरुले नै उदघाटन गर्न पाउनुपर्ने बताएको छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय प्रशासनले फट्याईँ गरेको भन्दै हिजो आफूहरुलाई रुख रोप्न लाग्दा काँग्रेसका कार्यकर्ताहरुलाई पिट्ने मान्छे आज पुल उद्घाटन रोक्न अग्रसर भएको बताएका छन् । उनले नेकपा विकासविरोधी भएको  भन्दै आलोचना पनि गरेका छन् । 

Advertisement

Advertisement