५० अर्ब माग्दा ८७ अर्बको आवेदन, अधिक तरलताले बढायो सेयर बजार

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तिय संस्थाहरुबाट ५० अर्ब रुपैयाँ तरलता प्रशोचनका लागि आव्हान गर्यो । ५० अर्ब रुपैयाँ उठाउन आव्हान गरेको राष्ट्र बैंक नेतृत्व त्यतिबेला झस्कियो जतिबेला ८७ अर्बका लागि आवेदन पर्यो ।  ‘५० अर्ब निक्षेप मागेका थियौं, ८७ अर्बको आवेदन पर्यो, यसको अर्थ  बजारमा अझै अधिक तरलताको अवस्था छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने । 

उनका अनुसार मंगलबार वित्तिय प्रणालीमा एक खर्ब ६५ अर्ब रुपैयाँको तरलता थियो । बुधबार ५० अर्ब तानेपछि अझै बैंक तथा वित्तिय संस्थाहरुमा एक खर्ब १५ अर्ब रुपैयाँको तरलता रहेको छ । 

कर्जा दुरुपयोगको सम्भावना बढ्यो ?
पछिल्लो केहि समयदेखि सेयर बजारमा दैनिक पाँच सात अर्ब भन्दा बढीको कारोबार भैरहेको छ । बजार परिसूचकले पनि दैनिक नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । कारोबार रकम र नेप्से परिसूचकमा पनि नयाँ नयाँ रेकर्ड कायम हुन थालेपछि वित्तिय प्रणालीमा अधिक तरतलता रहेको र त्यसले गलत ठाउँमा ऋण प्रवाह हुन सक्ने आंकलन गर्दै केन्द्रिय बैंकले तरलता प्रशोचनको कदम तत्काल अघि बढाएको थियो । 

बजारबाट २२ अर्ब रुपैयाँ तरलता उठाएको केहि समयभित्रै ५० अर्ब रुपैयाँ उठाउँदा पनि बैंक तथा वित्तिय संस्थाहरुले माग भन्दा धेरै आवेदन दिए । सेयर बजार पनि निरन्तर बढिरहँदा कर्जाको दुरुपयोगका सम्भावना पनि बढेर गएका छन् । वर्किङ क्यापिटल लोन र ओभर ड्राफ्ट लोनको पैसा सेयरमा लगानी भएको आसंका गरिएको छ ।  बुधबार मात्रै बजार ७०.६२ अंकले बढेर २०७१.०३ बिन्दुमा पुगेको छ । कारोबार रकम पनि ७ अर्ब ४६ करोड रुपैयाँ नाघेको छ । बजारको टि प्लस थ्रीको राफसाफ प्रणालीका कारण एकै हप्तामा बजारको पैसा पुनः बजार पुग्ने सम्भावना पनि कमै रहेको बताइन्छ । 

Advertisement

बुझेर मात्रै लगानी गर्नुस
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको सेयर धितोमा कर्जा १६ प्रतिशतले बढेको बताए । असारदेखि असोजको अवधीमा १६ प्रतिशतले बढेको सेयर कर्जा कात्तिकपछि झनै बढेको हुन सक्ने पनि उनले बताए । तर वर्किङ क्यापिटल लोन र ओभर ड्राफ्टको पैसा भने सेयर बजारमा गएको नुहुनुपर्ने दावी पनि उनले गरे । 

‘सेयर बजारको मूूल्य घट्नु बढ्नुमा बैंकहरुको प्रत्यक्ष भूमिका हुन्न । ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने हो, अहिले ब्याजदर घटेकै छ ।’, दाहालले भने ।  उनले सूचिकृत कम्पनीहरुको वित्तिय विवरण र बजारसँग सम्बन्धित पक्षहरुको गहिरो अध्ययन गरेर मात्रै लगानी गर्न पनि सुझाव दिए । 

Advertisement

Advertisement