भारतमा सत्ता हल्लाउँदै किसान आन्दोलन, नेपालमा मल, बिउ नपाउँदा पनि चुपचाप

Advertisement

काठमाडौं । भारतमा किसान आन्दोलन उत्कर्षमा पुगेको छ । नरेन्द्र मोदी सरकारले अघि सारेको कृषि कानुनको विरोधमा किसान सम्वद्ध सबै संघ संगठनले आन्दोलन गरिरहेका छन् । त्यस्तो आन्दोलन यतिबेला अधिकांश प्रदेश हुँदै भारतीय राजधानी दील्लीसम्म पुगिसकेको छ । कृषि उपकरण तथा औजारसहित दील्ली प्रवेश गर्न लागेका किसानहरुलाई मोदी प्रशासनले सिमामै रोकिदिएको छ । तर किसानहरु सडकमै खाना पकाएर आन्दोलनलाई अघि बढाईरहेका छन् । 

किसान आन्दोलनमा विपक्षीहरुले समर्थन र सहभागीता जनाईरहेका छन् । विपक्षीहरुको नेतृत्वमा रहेका अधिकांश प्रदेश सरकारहरुले आन्दोलनलाई सघाईरहेका छन् । विपक्षीहरुले किसान आन्दोलन र सरकारी धरपकडलाई सरकार विरुद्ध जनमत बढाउने अस्त्रका रुपमा पनि उपयोग गरिरहेका छन् । पञ्जावका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले दील्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले किसान आन्दोलनलाई समर्थन नगरेको भन्दै दुःख व्यक्त गरेका छन् । तर केजरीवालले भने आफु किसानहरुको पक्षमा रहेको बताईरहेका छन् । विपक्षी नेता राहुल गान्धीले पनि किसान आन्दोलन प्रति मोदी सरकारको रवैयाको कडा आलोचना गरिरहेका छन् । 

नयाँ कृषि कानुनले कृषि क्षेत्रमा निजी क्षेत्रको आकर्षण बढ्ने मोदी सरकारको दावी छ । तर किसानहरुले भने आफ्नो हित नहुने बताईरहेका छन् । आज किसान र भारतीय केन्द्र सरकारबीच तेश्रो चरणको वार्ता हुँदैछ । वार्ताका लागि केन्द्रिय कृषि मन्त्री नरेन्द्र सिंह तोमर खटिएका छन् । किसानहरुका तर्फबाट भने बिभिन्न प्रदेशका संगठनहरुका नेताहरु सहभागी छन् । 

Advertisement

सरकारले कृषि उत्पादनहरुको न्युनतम समर्थन मूल्यको व्यवस्था खारेज गरेर निजी क्षेत्र मार्फत खुला प्रतिष्पर्धामा बेच्न सकिने कानुनी व्यवस्था गरेको छ । तर किसानहरुले भने न्युनतम समर्थन मूल्यमा खरिद गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताउँदै आएका छन् । भारतीय किसान युनियनका अध्यक्ष स्वराज सिंहले प्रदर्शन नरोकिने बताएका छन् । उनले उत्तर प्रदेशबाट आन्दोलनका लागि दील्ली प्रवेश गर्न लागेका किसानहरु माथि धरपकड गरिएको बताएका छन् । 

नेपालमा चुपचाप
भारतमा केन्द्रिय सरकारलाई नै हल्लाउने गरि किसान आन्दोलन चलिरहेको छ । तर नेपालमा भने उखु किसानले भुक्तानी नपाउँदा होस वा किसानले मल नपाउँदा नै किन नहोस किसान आन्दोलन उठ्ने गरेको छैन् । किसान संगठनहरुमा राजनीतिक पार्टीका नेताहरुको वर्चश्व रहेकाले सरकार र विपक्षी हुँदाको भूमिकाले त्यहाँ असर गरिरहेको देखिन्छ ।
 
भारतमा किसानहरुले संगठित आवाज उठाएर आफ्ना माग पुरा गराउने अन्तिम तयारी गरिहँदा पनि नेपालमा भने गतिलो किसान संगठनको  निर्माण नै हुन सकिरहेको छैन् । 
उखु किसानहरुले पैसा पाएका छैनन्, मल बिउको अभाव त्यत्तिकै छ । अर्का तिर उत्पादित अन्न बालीको न्युनतम समर्थन मूल्यमा बिक्रि गर्न पनि पाएका छैनन् । तर पनि किसान आन्दोलनले उचाई लिन सकिरहेको छैन् । 
 

Advertisement

Advertisement